सिन्धुपाल्चोकमा भीषण बाढी, २ जनाको मृत्यु १४ जना बेपत्ता



काठमाडौं २५ असार । सिन्धुपाल्चोकको भोटेकोसी नदी लगायतका खेलामा आएको बाढीमा परी दुई जनाको मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन् ।

बाह्रबिसे–५ गाती जम्बुमा एल्मो ठाडो खोला बस्तीमा पस्दा १४ घर बगाएको छ । राति साढे १२ बजे आएको बाढीमा परेका अझै १४ जना बेपत्ता छन् । दुईको शव फेला परेको प्रहरीले जनाएको छ ।

भोटेकोसीसँगै वरपरका खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा व्यापक क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनि, बाह्रबिसे इप्रका चौकीछेउको भाग र खाग्दलदेखि जम्बु बजारसम्मको सडक–पुल बाढीले बगाएपछि जनजीवन अस्तव्यस्त बनेको छ ।

त्यसैगरी भोटेकोसी गाउँपालिका–५ मार्मिङ गाउँको बल्कुटे खोलामा बाढी आएर एक घर बगाएको प्रहरीले जनाएको छ ।

बाढीले खागदलको पक्की पूल नै बगाएको छ । बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन ।

बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताइन् ।

“खोला सडकमाथि बगिरहेको छ, उद्धारका लागि जानसक्ने अवस्था छैन”, उनले भनिन् । निरन्तर पानी परिरहेकाले पहिरो आएको हो । भोटेकोशी नदीको बहाव बढ्नाले आसपासका नागरिक त्रसित बनेका छन् । सबैलाई सुरक्षित रहन उपप्रमुख पाख्रिनले अनुरोध गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्