जनजागृति माविका स्वयम् सेवकलाई अभिमुखीकरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न



धादिङ, असार २० । धादिङको थाक्रे गाउँपालिका स्थित जनजागृति माध्यमिक विद्यालयले बैकल्पिक सिकाइ सहजीकरणका लागि आफ्नो विद्यालय सेवाक्षेत्रभित्रका ४१ जना स्वयंसेवक सहजकर्ता परिचालन गर्ने प्रयोजनले आज विहान अभिमुखीकरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयका शिक्षकको साथमा रहने ती स्वयंसेवक सम्बन्धित टोलकै हुने विद्यालयका प्रधानाध्यापक लावण प्रसाद फुयलले बताउनुभयो । सकेसम्म कोरोना सुरक्षात्मक उपायको अबलम्बन गर्दै सहजीकरण गरिने ती केन्द्रमा जाने सबै स्वयंसेवकलाई आज बिहान करिब ३ घण्टा अभिमुखिकरण तथा शपथ ग्रहण गराइएको छ । मूलतः स्वयम्सेवकलाई निर्धारित केन्द्रमा गएर गर्ने क्रियाकलापको बारेमा अभिमुखीकरण गराइएको थियो । विद्यालयले सिकाइ सहजीकरणका लागि ३० वटा सिकाइ केन्द्र तयार गरेको छ ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लावण प्रसाद फुयल, सिर्डस नेपालका अध्यक्ष माधव प्रसाद खतिवडा, सिर्डसकै कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, थाक्रे युवा परिषद्का अध्यक्ष मधुसुदन रुपाखेती लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । भोलि मिति २०७७ असार २१ गते आइतबारदेखि ती स्वयंसेवक सम्बधित टोलटोलमा परिचालित हुनेछन । सबै केन्द्रहरुमा कक्षा नर्सरीदेखि कक्षा १० सम्मकै बिद्यार्थीहरु सहभागी हुनेछन । स्वयंसेवकलाई थाक्रे गाउपालिका, वडा कार्यालय, सिर्डस नेपाल र बिद्यालयले संयुक्त रुपमा अवस्था सामान्यिकरणपश्चात प्रशंसा पत्रद्वारा सम्मानित गर्नेछ भने आवश्यक खाजा खर्चको ब्यवस्थापन, कोरोना जोखिम बीमा सिर्डस नेपालले गर्ने संस्थाका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले रहस्यखवरलाई जानकारी दिनुभयो । सहजीकरणमा परिचालित हुने अधिकांश सहजकर्ताहरु बिद्यालयकै पूर्व बिद्यार्थी छन भने अन्य सहजकर्ता स्वयंसेवक आबेदन फारम भरी काम गर्न इच्छुक युवकहरु समेत रहेका छन । स्वयंसेवकहरुको योग्यता कम्तीमा प्रवीणता प्रमाणपत्र तह उतीर्णदेखि स्नातकोत्तर तह उतिर्णसम्म रहेको छ । विद्यालयले सञ्चालन गरेको उक्त कार्यले कोरोना जोखिम नियन्त्रण तथा बालबालिकाको सिकाइमा थप मद्धत पुग्ने अपेक्षा गरिएको प्रधानाध्यापक फुयलले वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्