‘भारतले प्रधानमन्त्रीबाट हटाउन खोज्यो’ -प्रधामन्त्री ओली
काठमाडौँ १४ असार । आफुलाई भारतले प्रधानमन्त्रीपदबाट हटाउन खोजेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सा जारी गर्दा भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको आरोप लगाएका हुन ।
मदन भण्डारी फाउण्डेशनले आज बालुवाटारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दिल्लीका सञ्चार माध्यम र नेपालका होटेलहरुमा भइरहेका गतिविधि र एम्बेसीको सक्रियताले आफूलाई हटाउने खेल चलिरहेको पुष्टि हुने टिप्पणी गरेका छन् । प्रधानमन्त्रीले अहिले आफूलाई प्रधानमन्त्रीबाट हटाउने सपना कसैले नदेख्दा ठीक हुने चेतावनी पनि दिएका छन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मलाई प्रधानमन्त्रीको जिम्मेबारीमा बसिरहन मन छैन तर अहिलेको अवस्थामा म पदबाट हट्ने पनि हैन किनभने अहिले म हटेभने नेपालको पक्षमा बोल्ने आँट कसैले गर्ने छैन ।’
उनले आफू अहिले आफ्ना लागि नभई देशका लागि र आजका लागि नभई भोलिका लागि प्रधानमन्त्रीमा रहिरहेको बताए । ओलीले आफूलाई पदमा बस्ने मन नभए पनि राष्ट्रका लागि अनिवार्य भएको बताए। ओलीले आफू तत्काल हट्दा गलत नजिर स्थापित हुने बताए।
भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमी समेटेर नक्सा जारी भएपछि भारत रुष्ट छ। भारतले पछिल्ला दिनमा सरकार परिवर्तनकै लागि खेल खेलेको भन्दै ओलीले यस्तो अभिव्यक्ति दिएका हुन्। सरकारले भारतसँग सीमा विवादका विषयमा कूटनीतिक माध्यमबाट वार्ताको प्रयास गरे पनि भारतले कुनै प्रतिक्रिया दिएको छैन।