सरकारले जनचाहनालाई सम्बोधन गर्न नसकेको समाजबादी कांग्रेसको आरोप
काठमाडौं, ७ असार । भारतले मिचेको नेपालको भूभाग फिर्ता गर्छु भनेर सरकारले भनिरहे पनि विश्वास गर्ने आधार नभएको नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले आरोप लगाएका छन् ।
आज पार्टी कार्यालयमा पार्टी तयार पारेको नयाँ संविधानका विषयमा भएको छलफलमा उनले यसअघि पनि धेरै प्रधानमन्त्री र शासकले भूमि फिर्ता गर्छु भनेपनि नसकेको भन्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली पनि यस प्रकरणमा असक्षम हुने दावी गरे । नेपालले नयाँ नक्सा सार्वजनिक गरेसँगै संविधान संशोधन गरिसकेको छ तर पनि भूमि फिर्ता हुनेमा भने धेरैले शंका गर्दै आएका छन् । पार्टीले आवश्यक परे नयाँ संविधान जारी गर्ने र सबैको भावनाको सम्वोधन गर्ने जनाएको छ । पार्टीको केन्द्रीय समितिको बैठकले संविधानको खाका तयार पार्ने जिम्मा अध्यक्ष निरौलालाई नै दिएको थियो । नयाँ संविधानको खाँचो परेको खण्डमा संविधान जारी गर्छौं भन्दै निरौलाले वर्तमान सरकारले जनताको भावनाको सम्वोधन नगर्ने र देशको विकास पनि सम्भव नभएको टिप्पणी गरेका छन् ।
पार्टीले तयार पारेको संविधानको खाकामा २७ भाग, १ सय ६२ धारा र ३ अनुसूची रहेको सचिव मानबहादुर गुरुङले जानकारी दिए । नेपालको संविधान उपन्यासजस्तो छ , कतिपय कुरा बुझ्न नै सकिँदैन भन्दै गुरुङले आफूहरुको संविधान सटिक र स्पष्ट भाषामा भएको दावी गरे ।