आफ्ना कार्यकर्तालाई शृंखलाबद्धरुपमा फसाउन खोजिएको सोलु कांग्रेसको आरोप



सोलुखुम्बु,१ असार ।नेपाली कांग्रेस सोलुखुम्बुले सत्ताको आडमा प्रहरी प्रशासन एकांकी रूपमा नेपाली कांग्रेसका कार्यकर्तामाथि दमनमा उत्रिएको आरोप लगाउंदै यहि रुपमा अगाडी आए नेपाली कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएको छ।

उपभोक्ता समिति गठनको बिषयमा छलफलका लागि समय लिएर गाउँपालिका पुगेका आफ्ना कार्यकर्ताहरुलाइ लिखुपिके गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले नियोजित रुपमा फसाउन खोजेको भन्दै सोलुखुम्बु कांग्रेसले त्यस्तो चेतावनी दिएको हो।

पालिका अध्यक्ष बस्नेत र उपाध्यक्ष प्रमिला बस्नेतमाथि कार्यकक्षमै हातपात र दुर्व्यवहार गरेको आरोपमा काग्रेस कार्यकर्ताहरु शुभराम बस्नेत,सरोज बस्नेत र उत्तम खड्कालाई आइतबार पक्राउ गरेको छ।गाउँपालिकाको बिकास निर्माण र उपभोक्ता समिति गठनका सम्बन्धमा लिखुपिके गाउँपालिका सभापति सुबर्ण बहादुर बस्नेत नेतृत्वको टोलिले उठाएका प्रश्नहरुको जवाफ दिनुको सट्टा अध्यक्ष बस्नेतले प्रहरी प्रशासनसंगको मिलेमतोमा आफू माथि हातपात गरेको झुटो आरोप लगाएर उनीहरूमाथि धरपकड गराएको कांग्रेसको आरोप छ।

कांग्रेस जिल्ला सभापति बिनोद कुमार बस्नेतद्वारा आइतबार जारी बिज्ञप्तिमा गाउँपालिका सबैको साझा थलो र अध्यक्ष सबैका साझा प्रतिनिधि भएको स्मरण गराउंदै छलफल गर्न कार्यकक्षमा बोलाएर झुठा मुद्दा लगाएर धरपकड गर्न लगाउनु घोर अप्रजातान्त्रिक र अधिनायकवादी चरित्र भएको उल्लेख गरिएको छ।

गाउँपालिका उपाध्यक्ष प्रमिला बस्नेतको नेतृत्वमा कांग्रेसको तर्फबाट स्थानीय तह निर्बाचनमा उपाध्यक्षकि उम्मेदवार मिना कार्की बस्नेत र वडा नं ४ का सभापति दुर्गा बहादुर बस्नेतमाथि कुटपिट भएको उल्लेख गर्दै बिज्ञप्तिमा मुकदर्शक नबनि उनीहरूलाई तत्काल गिरफ्तार गर्न प्रहरी प्रशासन समक्ष माग गरिएको छ।

सोलुदुधकुण्ड नगरकार्यपालिका बैठकमा कांग्रेसबाट निर्बाचित कार्यपालिका सदस्य एबम नगर प्रबक्ता शारदामाया तामाङमाथि उपप्रमुख कल्पना राइले हातपात गरेको आरोप लगाउंदै सभापति बस्नेतले प्रहरी प्रशासनसंगको मिलेमतोमा उल्टै झुटा प्रमाण संकलन गरि तामाङमाथि मुद्दा लगाइएको उल्लेख गरिएको छ।’उक्त घटना सेलाउन नपाउंदै नेपाली कांग्रेसका कार्यकर्तामाथि शृङ्खलाबद्द रुपमा जिल्लाब्यापी दमनमा उत्रिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बु घोर भर्तसना र बिरोध गर्दछ’,- जारी बिज्ञप्तिमा भनिएको छ।

 

प्रतिक्रिया दिनुहोस्