१० अर्बको हिसाब खोज्दै युवा,उपत्यकाका तीनै जिल्लामा आज पनि प्रदर्शन



काठमाडौं, ३० जेठ । कोरोना नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्बको हिसाबकिताब सार्बजनिक गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका युबाहरुले शुक्रबार उपत्यकाका तीन वटै जिल्लामा प्रदर्शन गरेका छन।

सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, सरकारले जनताको आवाज नसुनेको, प्रहरीले शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको, पीसीआर लागु नगरेको, क्वारेन्टाइन मापदण्ड नअपनाएको भन्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

काठमाडौको बसन्तपुर र भक्तपुरमा १० बजेदेखि १ घण्टासम्म प्रदर्सन गरेका युवाहरुले सरकारका गतिविधि माथी चर्को खबरदारी गरेका थिए ।

शुक्रबार नै ललितपुरको झम्सिखेलमा पनि प्रदर्शन भएको छ । शनिबार माइतीघरमा प्रदर्शन गर्ने र मंगलबार झम्सिखेलमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ । सरकारले आफुहरुले उठाएका मागहरु सम्बोधन नगरेसम्म प्रदर्शन जारी रहने उनीहरुले बताएका छन् ।

यसअघि बिहीबार बालुवाटारमा पनि प्रदर्शन भएको थियो । गृहमन्त्रालयले बिहीबार लकडाउनको उलंघन गरी प्रदर्शन गर्नेहरुलाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्