निरन्तर राहत बितरण गर्दै कुँवर, आठौं चरणमा १५० परिवार लाभान्वित



काठमाडौं,२७ जेठ। काठमाडौ बाफलका समाजसेवी ताराबहादुर कुँवरले लकडाउनमा समस्यामा परेका नागरिकलाई निरन्तर राहत वितरण गर्दै आएका छन् । उनले सोमबार आठौ चरणको राहतस्वरुप चामल र दाल, तेल, चिनी, साबुनलगयतका सामग्री वितरण गरेका छन् ।

सधैजसो शनिबार राहत वितरण गर्ने उनले यसपालि भने सोमबारमात्र वितरण गरेका हुन् । कार्यक्रममा काठमाडौं ८ का प्रतिनिधिनिधिसभाका सांसद जीवनराम श्रेष्ठ, काठमाडौ महानगरपालिका १३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर, वडा सदस्य रामबाबु कोइरालालगायतको सहभागिता थियो । कुँवरले सोमबार १ सय ५० परिवारलाई राहत वितरण गर्दा उनीबाट राहत पाउनेको संख्या ७ सयभन्दा बढी पुगेको छ । सामाजिक अभियन्ता र व्यवसायी उनले समाजका हरेक क्रियाकलापमा चासो राख्दै समस्या परेका नागरिकलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएका छन् । कोरोना भाइरसको त्रासका कारण मानिसको जनजीवन संकटपूर्ण बन्दै गएपछि उनले कुनै पनि नागरिकले खान नपाउने अवस्था नआओस् भनेर सहयोग गरेको बताउँछन् । सामान्य व्यवसाय गर्दै आएका उनी आफूसँग प्रशस्त धन सम्पत्ति भएर भन्दा पनि नागरिकलाई सहयोग गर्नुपर्छ भनेर लागेको बताउँछन् । उनले सबैलाई १० केजी चामल दिएका छन् भने केहीले अन्य खाद्य सामग्री पनि पाएका छन् ।

कार्यक्रममा सांसद श्रेष्ठले स्थानीय तहले पनि राहत वितरण गरिहेको बताए । उनले यस किसिमका सामाजिक भावना बोकेका मानिसले राहत वितरण गर्नु प्रशसनीय र उदाहरणीय भएको बताए । राहत वितरण गरेको प्रत्येक दिन मानिसको संख्या बढ्दै गएकाले व्यवस्थापनामा समस्या परेको भएपनि आफ्नो अभियान निरन्तर चलिरहने बताउँछन् । सोमबारको कार्यक्रममा मानिसको घुँइचो बढी भएपछि कालिमाटी प्रहरीको सहयोग लिनुपरेको थियो । सुरुमा आफ्नै प्रयासबाट एक्लै लगानी गरेपनि अहिले यो अभियान चलाउन अहिले विभिन्न व्यक्तिहरुले सहयोग गर्दै आएकोमा उनले सहयोगीलाई धन्यवाद दिएका छन् । कुँवरले सहयोगी मनहरु अझै पनि उत्साहित भएको जनाएका छन् ।

राहत वितरणको तस्विर फेसबुकमा राखेपछि अरुलाई पनि हौसला पुग्छ भन्ने सोचेका उनले फेसबुकमा फोटो हालेर राम्रो काम गरेको बताए । कहिलेकाँही आफूमाथि भएका आलोचनालाई पनि उनी स्वभाविक मान्छन् र आफ्नो जस्तो गरेर देखाउन पनि आग्रह गर्छन् ।

प्रतिक्रिया दिनुहोस्