संघीयता खारेजीका लागि संबिधान संशोधन प्रस्ताव दर्ता हुने



फाइल फोटो, काठमाडौ, १९ जेठ ।राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीका लागि संविधान संशोधन प्रस्ताव दर्ता गर्ने जनाएको छ।

सरकारले नेपालको नयाँ नक्सा अनुसार निशानछाप परिवर्तनका लागि प्रस्तुत गरेको संविधान संशोधन प्रस्तावलाई समर्थन गर्दै राजमोले संघीयता खारेजीका लागि पार्टीको तर्फबाट संशोधन प्रस्ताव गर्ने जनाएको हो।

सोमबार विज्ञप्ति जारी गरी अध्यक्ष केसीले निशानछापबारेको संशोधन प्रस्ताव पेश भएका बेला अन्य विषयमा संविधान संशोधन गर्न खोजेर मूल विषयबाट ध्यान अन्यत्र हटाउन नहुने बताएका छन्।

‘तर, अन्य कुनै पक्षले संविधानमा संशोधनसम्बन्धी कुनै प्रस्ताव ल्याएमा हामीले पनि संघीयताको खारेजसम्बन्धी आफ्नो संशोधन प्रस्तावलाई तत्काल नै प्रस्तुत गर्नेछौं’ केसीले स्पष्ट पारेका छन्।

केसीले विज्ञप्ति प्रकाशित गरेको केहीबेरमै सोमबार मधेशवादी दलहरु राजपा र समाजवादी दलले आफ्ना एजेण्डा संविधानमा समेटिनुपर्ने भन्दै संविधान संशोधन प्रस्ताव दर्ता गराएका छन्।

केही दिन अघि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा पनि केसीले निशानछाप परिमार्जनका लागि गरिने संविधान संशोधनका क्रममा अन्य बिषय घुसाउन नहुने बताएका थिए। तर अन्य पक्षले संशोधन प्रस्ताव ल्याए आफ्नो दलले पनि संघीयता खारेजीको प्रस्ताव ल्याउने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्