नयाँ नक्साको पक्षमा कांग्रेस दृढ, पक्षमा मतदान गर्न सांसदहरुलाइ निर्देशन
काठमाडौं,१७ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस मुलुकको नयाँ नक्साको पक्षमा उभिएको छ । सरकारले हालै कालापानी,लिपुलेक र लिम्पियाधुराको भुभाग समेटेर नक्सा जारी गरेको थियो ।
जसलाई संविधानको अंग बनाउने गरी ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ संसदमा दर्ता गरिएको छ । संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने संविधान संशोधनको पक्षमा कांग्रेसले मतदान गर्ने भएको छ ।
प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
यसबारे जानकारी दिँदै ट्वीटरमा प्रवक्ता शर्माले लेखेका छन्, ‘कालापानी,लिपुलेक र लिम्पियाधुराको भुभाग समावेश गरि नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन गर्दछ ।’