रुकुम पूर्वमा पनि कोरोना देखिएपछि सांसद रोका चिन्तित



काठमाडौं १५ जेठ । रुकुम पूर्वमा पनि बुधबार कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य परीक्षण गर्दा ३ जनामा कोरोनाको संक्रमण देखिएकाले जिल्लामा त्रास फैलिएको छ ।


पीसीआर चेक गरिएपछि पहिलोपटक ३ जनामा संक्रमण देखिएको त्यहाँबाट निर्वाचित नेकपाकी प्रतिनिधिसभाकी सांसद कमला रोकाले जानकारी दिइन् । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा कोरोना देखिएपछि यसबाट सचेत रहन स्थानीयहरुले पनि जोड दिएका छन् । सांसद रोकाले स्वास्थ्य परीक्षणको दायरा बढाउनुपर्ने बताएकी छिन् । संसद बैठक चलिरहेकाले काठमाडौंमा रहेकी उनले आफ्नो तर्फबाट आवश्यक पहल र केन्द्रबाट उपलव्ध हुने सहयोगका लागि पहल गर्ने प्रतिवद्धता जनाएकी छिन् । पूर्वमन्त्री र केन्द्रीय सदस्य समेत रहेकी उनले कोरोनाको त्रासका कारण उव्जेको समस्याको समाधानका लागि सबै सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिएकी छिन् ।

लकडाउन सुरु भएपछि जिल्ला पुगेकी उनले स्वास्थ्य सामग्री समेत उपलव्ध गराएकी थिइन् । उनले संक्रमण फैलन नदिन सबैलाई शंका लागेमा स्वास्थ्य परीक्षण गर्न र आफू पनि सचेत रहन र अरुलाई पनि सचेतनासम्वन्धी चेतना बाँड्न आग्रह गरेकी छिन् । सांसद रोकाले क्वारेन्टाइनको निर्माण गर्न र अन्य आवश्यकीय तयारी गर्न प्रशासन र स्थानीय तहसँग समन्वय र छलफल गरिरहेको समेत बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्