सर्वदलीय बैठक सकियो, नक्सालाई वैधानिकता दिन काग्रेसद्धारा समयको माग
काठमाडौं १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा बसेको सर्वदलीय बैठक सकिएको छ। मंगलबार साँझ ५ बजेदेखि बसेको सर्वदलीय बैठक राति आठ बजे सकिएको हो।
उक्त सर्वदलीय बैठकको प्रमुख एजेण्डा संविधान संशोधन थियो। भारतले हडपेको लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर सरकारले नयाँ नक्सा जारी गरिसकेपछि संविधान संशोधनलाई लिएर सर्वदलीय बैठक बसेको हो।
सरकारले जारी गरेको नक्सालाई वैधानिकता दिन संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि सर्वदलीय बैठक बसेको हो। उक्त बैठकमा संविधान संशोधनसम्बन्धी एक बुँदे एजेण्डामा छलफल भएको जानकारी प्राप्त भएको छ ।
बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले संविधानमा विभिन्न राजनीतिक दलका आफ्ना फरक मत रहेको उल्लेख गर्दै अहिलेलाई ती कुरालाई भुल्न आग्रह गरेका थिए। बैठकमा प्रधानमन्त्रीले अहिलेलाई यो मात्रै एउटा एजेण्डा संविधान संशोधनमा राख्नुपर्ने बताएका थिए।
बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ नक्साबारे कांग्रेस सहमत भए पनि एक पटक केन्द्रीय कमिटीको बैठकबाट छलफल गर्न समय मागेका थिए। देउवाले समय मागेपछि ओलीले सकेसम्म चाँडो बैठक बसेर टुंग्याउन आग्रह गरेका थिए। उनले चाँडो नक्सालाई आधिकारिकता दिनुपर्ने भएकाले यो संवेदनशीलतालाई बुझिदिन आग्रह गरेका थिए।