कृषिमन्त्री भुसाल भन्छन- ‘अब कृषिबाटै रोजगारी सृजना गरिन्छ’
काठमाडौं, १३ जेठ । कृषि मन्त्री घनश्याम भुसालले बांझो जमिनलाइ प्रयोगमा ल्याएर थप डेढदेखि दुई लाखसम्म रोजगारी सृजना गर्न सकिने अनुमान रहेको कृषि मन्त्री घनश्याम भुषालले बताउनुभएको हो ।
मंगलबार श्रम रोजगार पत्रकार समूहसँगको छलफलमा मन्त्री भुषालले अहिले सरकारको नीति तथा कार्यक्रमले रोजगारी सृजनामा कृषिलाई जोड दिइएको र अब बाँझो जमिनलाई नै प्रयोगमा ल्याउनेगरी बजेटमार्फत व्यवस्थापन गर्ने बताउनुभएको हो ।
‘कृषिमा रोजगारी सृजना गर्ने भनिएको छ तर कसरी कति भन्ने बारेमा छलफल त भएको छैन, तर अब सकेसम्म बाँझो जमिनलाई प्रयोगमा ल्याउने हो भने थप नयाँ रोजगारी सृजना गर्न सकिने अवस्था छ र बजेटमार्फत त्यही अनुसारको व्यवस्था पनि हुँदैछ ।’
मन्त्री भुषालले कृषिमा थप रोजगारी सृजनाका लागि प्रोजेक्ट बाँडेरभन्दा पनि कृषकलाई कृषि गर्न सजिलो बनाउनेतर्फ अहिलेको योजना रहेको पनि बताउनुभयो ।
कृषक जसले थोरै मात्रमा कृषि गर्छन । जो पहिलेदेखि नै कृषि गर्दै आएका छन् उनीहरुलाई सजिलो बनाइदिने योजना सरकारको छ । त्यसैगरी अहिले पालिकास्तरमा कृषि प्राविधिकको कोटा खाली रहेकाले त्यसतर्फ पनि मन्त्रालयले प्राविधिकको सहज व्यवस्थापन गर्ने मन्त्रालयको योजना छ । अहिले झण्डै ६ हजार कृषि प्राविधिकको पद खाली रहेकाले अब यो पदपूर्ति गर्ने र प्राविधिकको सहज उपलब्ध गराउने उहाँले बताउनुभयो ।
त्यसैगरी अब साना किसानसहित ठूलो स्केलमा कृषि गर्नेहरुलाई सहुलियतमा ऋण उपलब्ध गराउने आफ्नो योजना रहेको मन्त्री भुषालले बताउनुभयो ।
अहिले साना किसानले पनि लघुवित्तमार्फत व्याज लिएर कृषि कर्म गर्दा पनि चर्को व्याज भएकाले त्यस्ता किसानलाई सस्तोमा ऋण दिने उहाँको भनाइ छ ।
यस्तै अहिले ठूलो स्केलमा ऋण लिएर कृषि कर्म गरिरेकाको पनि ब्याजमा हटाउने योजना रहेको मन्त्री भुषालले बताउनुभयो ।
‘कृषिलाई प्राथमिकता, रोजगारी सृजना भनेर २००६ देखि २००७ सालतिरदेखि भनिरहेका छौं, अब त्यो नारामा मात्र होइन साँच्चै व्यवहारमा लागू गर्ने बेला आएको छ, अब यसलाई फेर्न पर्छ,’ मन्त्री भुषालले भन्नुभयो, ‘ कृषकले उत्पादन गरेका उत्पादनमा न्यूनतम समर्थन मूल्य तोकिनुपर्छ ।’