सर्बदलीय बैठकमा देउवाको प्रष्ट अडान-‘भारतीय सेना फिर्ता हुनैपर्छ’



काठमाडौं, ३१ बैशाख । प्रमुख प्रतिपक्ष दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली भूमिबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने माग गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बुधबार बोलाएको सर्वदलीय बैठकमा आफ्नो धारणा राख्दै पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले नेपालको अविच्छिन्न अधिकार निर्वाध रहनुपर्ने धारणा राखेका हुन्।

सरकारले चीन र भारत दुवै राष्ट्रसँग यसबारे संवाद गर्नुपर्ने र प्रष्ट रूपमा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि रहेको भन्न सक्नुपर्ने देउवाको भनाइ छ।

सन् २०१५ मे मा भारत र चीनका प्रधानमन्त्रीले लिपुलेकबारे बेइजिङमा सहमति गरेपछि नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले दुवै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएर नेपालका तर्फबाट प्रष्ट धारणा र गम्भीर असहमति प्रकट गरेको चर्चा गर्दै देउवाले त्यही सहमतिको परिणाममा आज लिपुलेक सडक निर्माण गरिएको प्रष्ट पारे।

सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्ने भन्दै देउवाले त्यसका लागि नेपाली कांग्रेसको पूर्ण साथ सरकारलाई रहने बताएको बैठकपछि पत्रकारहरूलाई जानकारी दिए।

उनले सरकारलाई केवल वक्तव्यवाजीमा मात्र नअल्मलिएर कूटनीतिक र राजनीतिक रूपमा उच्चस्तरमा सार्थक एवं परिणाममुखि पहल कदमी गर्न आग्रह गरे।

नेपालका लागि अहिलेसम्ममै सबै भन्दा ठूलो सहयोग राशी सम्बन्धी अमेरिकी सरकारसँग अघिल्लो सरकारले गरेको सम्झौता, एमसीसीलाई अगाडी बढाउन पनि देउवाले सुझाव दिएका छन्।

देशको समृद्धि, कोरोना विरुद्धको संघर्ष र लिपुलेक लगायतको राष्ट्रियताको विषयमा सरकारले चाल्ने सबै सकारात्मक कदममा नेपाली कांग्रेसको पूर्ण सहयोग रहने उनले बैठकमा प्रष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस्