आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षा हुने



काठमाडौं ३० बैशाख । आज बिहानैदेखि देशभरको मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पनि देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज पहाडका केही र तराईका थोरै स्थानमा हावाहुरी र मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।
अहिले बिहान धुम्म देखिएपनि काठमाडौंमा भने घाम लाग्ने सम्भावना रहेको उनले बताइन्। ‘तर अपराह्नपछि यहाँ पनि बदली भई मेघगर्जनसहित वर्षा हुने सम्भावना छ,’ उनले भनिन्।

यस्तै देशभका पहाडी भूभागका केही स्थान तथा तराईका थोरै ठाउँमा पनि अपराह्नपछि नै हावाहुरी, चट्याङ तथा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौमसविद् बासीले जानकारी दिइन्।

उनका अनुसार तत्काल आज बिहानैदेखि पश्चिमी क्षेत्रमा सामान्य बदली छ भने देशका बाँकी भूभागमा मौसम आंशिक ९घाम बादल घाम बादल० बदली छ।

मौसमविद्का अनुसार अहिले मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव छ।

सोही कारण नेपालमा हावाहुरी, चट्याङसहित वर्षा हुने क्रम चलिरहेको हो।

यो क्रम बिहीबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।

प्रतिक्रिया दिनुहोस्