लिपुलेक सडक-‘जानकारी गराउंदा सरकारले सुनेन,भारतले संकटको मौका छोप्यो’
काठमाडौं, २७ बैशाख ।देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले कोरोना भाइरसको संकटका बेला भारतले मौका छोपेर अतिक्रमण गरेको भूमि फिर्ता लिनुपर्ने बताएको छ।
मोर्चाकातर्फबाट शनिबार एक प्रेस वक्तव्य जारी गर्दै संयोजक सिपी गजुरेलले भारतीय सेनाले सडक बनाइरहेकोबारे पटक पटक जानकारी गराउँदा पनि सरकारले नसुनेको आरोप लगाउंदै भुमी फिर्ता का लागि पहल गर्न आग्रह गरेका हुन।
‘कोभिड १९ को महामारीले विश्वव्यापी रुपमा संकट खडा गरेको मौका छोपी लिम्पियाधुरा हुँदै मान सरोवर जाने सडकको भारतीय रक्षा मन्त्रीले हिजो उद्घाटन गरेका छन्’, गजुरेलले भनेका छन्, ‘यो घटना सन् १८१६ मा नेपाल र भारतबीच भएको सुगौली सन्धीको उल्लंघन र नेपाली भूभागमाथिको अतिक्रमण हो।’
उनले अविलम्ब कूटनीतिक पहल गरी अतिक्रमित नेपाली भूभागलाई मुक्त गर्न नेपाल सरकारसँग माग गरेका छन्। ‘यतिखेर सम्पूर्ण राष्ट्र कोभिड १९ को महामारीसँग जुधिरहेको र लकडाउनमा रहेको मौका छोपेर भारत सरकारले गरेको यो अतिक्रमणविरुद्ध एकतावद्ध संघर्ष गर्नका लागि तयार रहनुस्’, उनले भनेका छन्, ‘हामी सम्पूर्ण देशभक्त नेपाली दिदी बहिनी, दाजुभाइसँग भारतको अतिक्रम बिरुद्ध लड्न अपिल गर्दछौं।ु