७५ पुग्यो कोरोना संक्रमितको संख्या



काठमाडौं २१ बैशाख । बाँकेको नेपालगन्जमा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार नेपालगन्जकै थप ६ जनामा कोरोना पुष्टि भएको हो।
आइतवार साँझ कोरोना पुष्टि भएकाहरुबारे मन्त्रालयका प्रवक्ता डा। समिरकुमार अधिकारीले विज्ञप्ति निकालेर पुष्टि गरेका हुन्। उनीहरु शुक्रबार र आइतवार भेटिएका १० संक्रमितकै परिवारका सदस्य र नातेदार रहेको बताइएको छ। भेरी अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट उनीहरुमा कोरोना पुष्टि भएको हो। नयाँ संक्रमितमा १६, २१ र ३४ वर्षीय पुरुष रहेका छन्।
त्यसैगरी ४०, ५५ र ६० वर्षीया महिला पनि कोरोना संक्रमित भएका छन्। आइतवार दिउँसो मात्रै नेपालगन्जमा पाँच पुरुष र चार महिलामा कोरोना पुष्टि भएको थियो। यही शुक्रबार त्यहाँका एकजना ६० वर्षीय मुस्लिम धर्मगुरुमा पहिलो कोरोना संक्रमण देखिएको थियो। नेपालगन्जमा यसअघि आइतवार दिउँसो संक्रमण पुष्टि भएका ९ जना कोरोना भाइरसका नयाँ बिरामीमध्ये ७ वर्षीय पनि रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले नेपालगन्जमा ७ वर्षीयदेखि ५८ वर्षीयसम्मलाई कोरोना देखिएको जानकारी दिएका छन्। जसमा ५ पुरुष र ४ महिला थिए।

प्रतिक्रिया दिनुहोस्