आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा नजान निर्देशन
काठमाडौ ११ बैशाख । आज वैशाख कृष्ण पक्ष औँसीका दिन आजको दिनलाई माततीर्थ औँसी अर्थात आमाको मुख हेर्न दिनका रुपमा चिनिन्छि । यो दिनलाई पछिल्लो समय आमा खुवाउने औँसीको नामबाट चिन्ने गरिएको छ । आजको दिन आफुलाई जन्म दिने आमालाई सम्मान तथा मिठान्न भोजन गाराउने पनि चलन छ ।

छोराछोरीले आज बिहानै उठी आफ्नी आमालाई राम्राराम्रा लुगा र मीठामीठा–तागतिला खानेकुरा खान दिइ आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाले भने तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराइ दिवङ्गत आमा र आमाले गरेका कष्टकर काम सम्झने गर्दछन् ।
यद्यपि लकडाउनका कारण विवाह भइसकेका चेलीबेटी भने आज फोनबाटै आमासँग कुरा गर्न बाध्य छन् । यस्तै आमाको मुख हेर्ने औँसी समेत भनिने आजको दिन दिवङ्गत आमाको सम्झनामा काठमाण्डौको मातातीर्थमा मेला लाग्ने गरेकोमा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न भएको लकडाउनको कारण स्थगित गरिएको छ ।
यस वर्ष स्थानीयवासीलाई पनि मातातीर्थमा नजान सूचित गरिएको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो । नगरपालिकाको सूचनाको अवज्ञा गरेमा अनुगमनमा खटिएका कर्मचारीले स्थलगत रुपमा सय रुपैयाँ जरिबाना गर्ने जनाइएको छ ।
घरघरमै बसेर जीवित आमालाई खुशी बनाउने र दिवङ्गत आमाका नाममा श्रद्धा प्रकट गर्न सकिने धर्मशास्त्रविद्को भनाइ छ ।