जोरपाटीमा निःशुल्क खाना खुवाइँदै



काठमाडौ १० बैशाख । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नारायणबहादुर सुवेदीको सक्रियतामा बुधबारबाट जोरपाटीमा निःशुल्क खाना खुवाइने भएको छ । लकडाउनका कारण समस्यामा परेका नागरिकको दैनिक जीवनयापन सहज होस् भनेर वडाले चलाउने यो अभियानमा समस्या परेका जो पनि सहभागी हुन पाउने छन् ।
वडाध्यक्ष सुवेदीले वडावासीको दुःखलाई सम्वोधन गर्नु आफ्नो दायित्व भएकाले पटकपटक विभिन्न अभियान चलाउँदै आएको बताए । उनले वडामा लकडाउनका कारण धेरै नागरिक संकटमा परेकाले उनीहरुको विवरण संकलन गर्ने, राहत उपलव्ध गराउनुका साथै अन्य प्रकारका सहयोग गर्दै आएको जनाए । नयाँबस्ती, बराल पम्प र नारायणटारमा केही दिनअघिदेखि खाना खुवाइँदै आइएको छ । नेपाली कांग्रेसनिकट नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्षसमेत रहेका स्थानीय राजु सुनारले नागरिकको दैनिकी समस्यामा पर्दै गएकाले वडाको सक्रियतामा आफुहरुसहित स्थानीय संघसंस्थाको समन्वयमा खाना खुवाउने योजना बनाइएको बताए । उनले वडाध्यक्ष सुवेदीको सक्रियताले वडावासीमा राहत मिलेको दावी गरे ।
वडाले विभिन्न ठाउँमा पुगेर पीडितलाई राहतसँगै जनचेतना समेत बाँडेको छ । बाहिरबाट आएकाको तथ्यांक संकलन गर्ने, स्वास्थ्य परीक्षणमा सहजीकरण गर्नुका साथै अत्यावश्यक सामग्रीसमेत वितरण गरेको छ । वडाध्यक्ष सुवेदीले वडावासीले कुनै गुनासो नगर्ने गरी काम गरिरहेको दावी गरेका छन् । उनले केही समस्या परे सिधै आफूसँग कुरा गर्न पनि वडावासीलाई आग्रह गरेका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्