कोरोना रोकथाम तथा राहत, सरकारले गर्यो अहिलेसम्म ४ अर्ब खर्च



काठमाडौं९ बैशाख । सरकारले कोरोना संक्रमण रोकथाम तथा राहतका लागि हालसम्म ४ अर्ब रुपैयाँ खर्च गरेको छ।अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयलाई रकम निकासा गरेको हो।

कोरोना रोकथामका लागि अहिलेसम्म ४ अर्ब रुपैयाँ रकमान्तर गरेर निकासा गरिएको मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए। उनका अनुसार, सबैभन्दा धेरै रक्षा मन्त्रालयलाई २ अर्ब ३४ करोड निकासा गरिएको छ। यस्तै स्वास्थ्य मन्त्रालयलाई १ अर्ब १५ करोड दिइएको छ। कोरोना रोकथाम उपचार कोषलाई ५० करोड रुपैयाँ निकासा गरिएको छ।

स्वास्थ्य सामाग्री खरिद गर्नका लागि मन्त्रालयले रकम निकासा गरेको हो। मन्त्रालयले केहि रकम रकमान्तर र विविध शीर्षकबाट दिएको हो। चालु आर्थिक वर्षमा बजेट सरेन्डर गरेका आयोजनाहरुबाट मन्त्रालयलाई रकमान्तर गर्ने सुविधा छ।

थप रकम विभिन्न निकायबाट माग भई आइरहेको मन्त्रालयले जनाएको छ। यसको अध्ययन गरी रकम निकासा गर्ने मन्त्रालयको तयारी छ।

स्वास्थ्य मन्त्रालयले हाल चीनबाट स्वास्थ्य सामाग्री खरिद गरिरहेको छ। यस्तै नेपाली सेनाबाट स्वास्थ्य सामाग्री खरिद गर्नका लागि पनि बजेट निकासा गरिसकेको छ। सरकारले कोरोना रोकथामका लागि निशुल्क परीक्षण, क्वारेन्टाइन, खाना, खाजाको व्यवस्था गरेको छ।
उता कोरोना रोकथामका लागि बनाइएको कोषमा आइतबारसम्म २ अर्ब ९ करोड ९५ लाख जम्मा भएको छ। कोष सञ्चालको लागि निर्देशिका तयार भैसके पनि खर्च भने हुन सकेको छैन।

सोमबारसम्म कोषबाट कुनै रकम खर्च हुन नसकेको मन्त्रालयले जनाएको छ। कोष सञ्चालनका लागि निर्देशिक जारी गरिसकेको छ। निर्देशिकाअनुसार कोष सञ्चालनको अधिकार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्पराज कडेलको संयोजकत्वमा समिति बनेको छ। समितिले संक्रमण रोकथामका लागि आएका निवेदनहरुको अध्ययन गरेर रकम निकासा गर्न सक्नेछ।

कोषको आम्दानी, निकासा र खर्चको विवरण राख्ने जिम्मा महालेखा नियन्त्रक कार्यालयलाई दिइएको छ।

कोरोना संक्रमणसँग सम्बन्धित कम भएपछि कोष विघटन हुनेछ। कोषमा रकम बाँकी रहेमा त्यो पैसा स्वत प्रधानमन्त्री दैवि प्रकोप कोषमा जम्मा हुने व्यवस्था निर्देशिकाले गरेको छ।

प्रतिक्रिया दिनुहोस्