उदयपुरको मस्जिदका थप एकजनालाई कोरोना, संक्रमितको संख्या ३२ पुग्यो
काठमाडौं ९ बैशाख । उदयपुरको त्रियुगा नगरपालिका(३ भुल्केस्थित मस्जिदकै अर्का एकजनामा कोरोनाको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। विकास देवकोटाले यसको पुष्टि गरेका छन्।
कोरोना संक्रमति ३८ वर्षीय पुरुष रहेको प्रवक्ता देवकोटाले जनाएका छन । यो संगै भाइरस संक्रमितको संख्या ३२ पुगेको छ। त्यस मस्जिदमा रहेका १३ जनालाई यसअघि कोरोना देखिएको थियो। उक्त मस्जिदमा १२ भारतीय र ४ जना नेपाली बसेका थिए। यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ३१ थियो। जसमा चारजना निको भएर घर फर्किएका छन्। अहिले विभिन्न अस्पतालमा २७ जना बिरामीको उपचार भइरहेको छ। अहिलेसम्म टेकु अस्पतालबाट दुईजना, बागलुङस्थित धौलागिरि अस्पतालबाट एकजना र कैलालीस्थित सेती अस्पतालबाट एकजना उपचार गरेर घर फर्किसकेका छन्।
अहिले टेकु अस्पतालमा एकजना, पर्सास्थित नारायणी क्षेत्रीय अस्पतालमा ४ जना, बागलुङको धौलागिरि अस्पतालमा अस्पतालमा १ जना, सेती अस्पतालमा चारजना, विराटनगरस्थित कोरोना अस्पतालमा १३ जना र चितवनस्थित कोरोना अस्पतालमा दुईजनाको उपचार चलिरहेको छ।