लुकिछिपी नेपाल प्रवेशमा कडाइ गर्दै प्रदेश १ सरकार , सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथ
बिराटनगर । नेपालसंग सीमा जोडिएका भारतीय राज्यहरूमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि प्रदेश १ सरकारले सीमा क्ष्रेत्रमा थप कडाइ गर्ने भएको छ।खुला सीमानाका कारण भारतबाट मानिसहरु लुकिछिपी नेपाल प्रवेश गर्ने सम्भावना देखिएकाले जनशक्तिलाई सीमा क्षेत्रमा केन्द्रित गरेको सशस्त्र प्रहरी बलको प्रदेश १ बाहिनीले जनाएको छ ।
सशस्त्र प्रहरीको जवानको आधारभूत तालिममा रहेका प्रशिक्षार्थी, प्रधान कार्यालय र अन्य प्रदेशबाट समेत जनशक्ति थप गरेर सीमा क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रदेश १ बाहिनी मुख्यालयले जनाएको छ । भारतको विहार र पश्चिम बंगाल राज्यसंग सीमाना जोडिएको प्रदेश १ का जिल्ला इलाम, झापा मोरङ र सुनसरीको सीमाबर्ती क्षेत्रमा जनशक्तिलाई केन्द्रित गरेको बाहिनीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) नगेन्द्र थापाले जानकारी दिए ।
सीमा क्षेत्रमा नयाँ पोस्ट थपेर सात जनाको दरले ड्युटीको व्यवस्था मिलाइएको छ । भारतसँग झापा, मोरङ र सुनसरीको २ सय ७० किलोमिटर र इलामको ५२ किलोमिटिर सीमा क्षेत्र रहेको छ । यहाँ एक सय ५१ वटा पोष्ट तयार गरी ३ हजार २ सय सशस्त्र प्रहरी परिचालन गरिएको छ । झापाको सीमा क्षेत्रमा ५८, सुनसरीमा ५१ मोरङमा ३५ र इलाममा एउटा नयाँ पोस्ट थपिएको छ । यसअघि इलाममा एक र अन्य तीन जिल्लामा गरी जम्मा २४ वटा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट रहेको थियो ।
लकडाउनअघि प्रदेश १ को सीमावर्ती क्षेत्रमा दशगजा क्षेत्रदेखि १ किलोमिटर टाढा सशस्त्रको चेकपोस्ट राखिएको थियो । लकडाउनपछि सशस्त्र प्रहरीले दशगजा क्षेत्रमा नै नयाँ चेकपोष्ट तयार गरी सीमा क्षेत्रमा मानिस आवत आवजमा पूर्ण रुपमा कडाइ गरेको जनाएको छ।