तीनजनाको र्यापिड टेस्टमा पोजेटिभ देखिएपछि काडाघारीको सनसिटी अपार्टमेन्टमा शिलबन्दी
काठमाडौं २ बैशाख । तीनजनाको र्यापिड टेस्टमा पोजेटि देखिएपछि काठमाडौंको काडाघारीस्थित सनसिटी अपार्टमेन्ट पूर्णरुपमा सिल गरिएको छ । बेलायतबाट आएका तीन जनाको यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आएपछि सोमबार बेलुकादेखि सनसिटी अपार्टमेन्ट पूर्णरुपमा सिल गरिएको हो ।

प्रहरीका अनुसार अहिले कसैलाई पनि भित्र जान र बाहिर नस्किन दिइएको छैन । अत्यावश्यक सामग्रीहरु, दूध, पानीलगायत गेटसम्म लिन आउन सक्छन् । उक्त अपार्टमेन्टमा पाँचसय परिवार छन् । अहिले पनि भित्र १७ सयजति रहेका छन् । एकै परिवारका तीनजनाको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि सिल गर्नुपरेको थियो ।
उक्त अपार्टमेन्टमा बस्ने शंकर बञ्जाडेका अनुसार अहिले भित्र कुनै पनि समस्या छैन । सोही अपार्टमेन्टमै बस्ने दीपक अग्रवालले पनि अहिले आफूहरु पीसीआर रिपोर्टको पर्खाइमा रहेको बताए ।
६१ जना विदेशबाट आएका छन्, ३६ जनाको र्यापिड टेष्ट गरियो काठमाडौंको कागेश्वर मनोहरा क्षेत्रमा चैत ५ गतेपछि विदेशबाट आएका ६१ जनाको सोमबारदेखि र्यापिड टेष्ट सुरु गरिएको छ । सोमबार सनसिटीमा बस्ने पाँचजनाको परीक्षण गरिएको थियो ।
भवनमा पाँच सय परिवार छन्
सनसिटी अपार्टमेन्टको १५ औँ तलामा रहेको एक परिवारमा कोरोना पोजेटिभ देखिएपछि उक्त अपार्टमेन्टमा सिल गरिएको छ । उक्त अपार्टमेन्टमा कम्तिमा पनि पाँच सय परिवार रहेको अनुमान छ । “त्यहाँभित्र पाँचवटा टावर छन्, एउटा टावरमा सयवटा परिवार फ्ल्याट छन्,” स्रोतले भन्यो, “अहिले भित्र कति परिवार छन् भन्ने एकिन छैन । कतिपय परिवार बाहिर गइसकेको हुन सक्छ ।”
अहिले प्रहरीले भित्रबाट बाहिर र बाहिरबाट भित्र जान दिएको छैन । प्रहरी डीआईजी विश्वराज पोखरेलका अनुसार अहिले प्रहरीले उक्त भवनमा सिल गरेको छ । पोखरेलका अनुसार उक्त तीनजनाको परिवार चैत ५ गते बेलायतबाट आएको थाहा भएको छ ।
पाटन अस्पतालका निर्देशक डा। विष्णुप्रसाद शर्माका अनुसार र्यापिड डायग्नोस्टिक टेस्ट किटमा कोरोना परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेसनमा राखिएको हो । उनले भने “परिवारका तीनजनालाई र्यापिड डायग्नोस्टिक टेस्ट किटमा कोरोना पोजेटिभ देखिएको छ थप परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना संकलन गरेर पठाएको छ ।”