नेकपा सांसद आलेले आफ्नै खर्चमा पठाए लाखौंका स्वास्थ्य सामाग्री



काठमाडौं, २७ चैत्र । डोटी १ बाट निर्वाचित नेकपाका सांसद प्रेमबहादुर आलेले आफ्नै खर्चमा जिल्लामा स्वास्थ्य सामग्री पठाएका छन् । स्वास्थ्य सामग्रीको अभावमा कोरोना भाइरस परीक्षण गर्न समस्या भएकाले आलेले आफ्नै खर्चमा आज हेलिकोप्टरमार्फत जिल्लामा सामग्री पठाएका हुन् ।

सांसद आलेले जिल्लामा स्वास्थ्य सामग्री पुगेपछि कोरोना भाइरसको उपचार र परीक्षणमा सहज हुने विश्वास लिएका छन् । उनले २ सय वटा सेनिटाइजर, १ सय थान पीपीई सेट, गमबुट ३५ जाृेडी, ग्लोब्स १२ सय प्रति, मास्क १२ सय वटा, साइरेक्स पाउडर ३० बोतल, हेड क्याप १ हजार थान, स्वाब परीक्षण गर्ने भीटीएम् ३ सय ५ थानलगातका अत्यावश्यक सामग्री पठाएका हुन् । प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेललाई सांसद आलेले उपलव्ध गराएका सामग्री जिल्ला स्वास्थ्य अधिकृत रमेश मलासीले पाइसकेका छन् । जिल्लाका विभिन्न ठाउँमा स्वास्थ्य केन्द्र स्थापना गरी नागरिकको स्वास्थ्य परीक्षण गर्न सहज हुने सांसद आलेले बताए ।

विशेषगरी भारतबाट आएका नागरिकमा स्वाव परीक्षण हुने र आवश्यकता अनुसार अन्यलाई पनि परीक्षण गरी उपचारमा सहज हुने उनको विश्वास छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन जनप्रतिनिधिको हैसियतले आफ्नो तर्फबाट केही पहल गरेको सांसद आलेको भनाई छ । उनले संघका विभिन्न मन्त्रालयका साथै, प्रदेशका मन्त्रालय र स्थानीय तहसँग पनि समन्वय भइरहेको जनाए । आलेले जिल्लाको विकासका लागि संघबाट धेरै योजनाहरु पनि पारिसकेका छन् । उनी आफू जनताको प्रतिनिधि भएकाले सबै समय जनता र देशको विकासमा खर्चने विश्वास दिलाउँछन् । उनी २०७० सालको संविधानसभाको निर्वाचनमा पनि डोटीबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्