राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त
काठमाडौ २३ चैत्र । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सरकारले राष्ट्र बैंकको गभर्नरमा पूर्व डेपुटी गभर्नर अधिकारीलाई नियुक्त गर्न निर्णय गरेको हो ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई गभर्नरमा नियुक्त गरेसँगै तीन सातादेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको गभर्नरमा पद पूर्ति भएको छ । यसअघि अर्थमन्त्री डा।युवराज खतिवडा संयोजकत्वको सिफारिस समितिले राष्ट्र बैंकको गभर्नरमा तीनजनाको नाम सिफारिस गरेको छ । जसमा अधिकारीसहित राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र पूर्वअर्थसचिव डा। राजन खनालको नाम थियो ।
सिफारिसमा परेका तीनैजना प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री खतिवडा निकटवर्ती हुन् । अधिकारी पूर्वएमाले निकट कर्मचारी हुन् । त्यसमा पनि उनको सम्बन्ध प्रधानमन्त्री ओलीदेखि अहिलेका अर्थमन्त्री खतिवडासँग निकै राम्रो रहेको बताइन्छ ।