कविता



वसुधैव कुटुम्बकम्

भाइ भाइ फुटे जान्नु अर्कैले लाभ पाउँछ ।
पालो मिचेर अर्काले झन् प्रभाव जमाउँछ ।।
कस्तो रावणको बुद्धि ठुलो शक्ति र वैभव ।
धोका बेमेलले गर्दा निष्प्रभाव भयो सब ।।

पुज्यछन् राम सीताझैँ हनुमान र लक्ष्मण ।
कसैले पनि श्रद्धाले पुज्दैनन् ती विभीषण ।।
उस्तै हो रामको भक्ति सहयोग गरे पनि ।
सबैले भन्दछन् पापी देश द्रोह गर्यो भनी ।।

रूप क्षणिक हो राम्रो काम राम्रो सधैँ भरी ।
राम्रो कर्म गरौं हामी नाम राख्न सधैं भरी ।।
देशभक्ति जसै राम्रो कर्म अर्को कहाँ छ र रु
यस्तो कर्म गरौँ हामी प्रशंसा होस् सबै तिर ।।

इच्छा नेपाल आमाको पूरा गर्न सबै जुटून् ।
स्वभिमान बचाएर काम गर्न सबै उठून् ।।
सबैका आँतमा नौलो भलो बिचार जन्मियोस् ।
चन्द्र सूर्य रहेसम्म मेरो नेपाल चम्कियोस् ।।

आँखाबाट निकालेर फाल्दिन्छ जसले कस ।
कर्मैले देवता बन्छ कर्मैले बन्छ राक्षस ।।
बनेका कर्मले कृष्ण श्रीराम बुद्ध देवता ।
यस्तै दृष्टान्त भेटिन्छन् पढेमा धर्मका कथा ।।

मान्छे सधैं बनोस् मान्छे आफ्नो कर्तव्यमा जुटोस् ।
आवाश्यक जहाँ हुन्छ सेवा गर्न त्यहाँ उठोस् ।।
आत्मा सम्मान होस् आफ्नो सम्मान सबको गरोस् ।
सद्भावना , दया, माया, करुणा मनमा भरोस् ।।

प्रपन्नाचार्य झैँ ज्ञानी विवेकानन्द झैँ यश ।
जङ्गली सिंह झैँ आओस् सबैमा उच्च साहस ।।
दाहिना हुन् सधैँ ब्रम्हा शिवशंकर माधवम् ।
फैलियोस् देशमा सारा वसुधैव कुटुम्बकम् ।।

गणेशप्रसाद खतिवडा
थुलुङ दूधकोशी गाउँपालिका
वडा नं ( ३, पञ्चन, सोलुखुम्बु
फोन 9851166796

प्रतिक्रिया दिनुहोस्