कोरोना रोकथाम : के गर्दैछ माप्यदुधकोसी ?
सोलुखुम्बु , १७ चैत्र। जिल्लाको माप्य दुधकोसी गाउँपालिकामा ५ बेडको आइसुलेशनसहित १० बेडको क्वारेन्टाइन वार्ड स्थापना भएको छ।बिश्वब्यापी चुनौतीको रुपमा देखापरेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि प्राथमिकताका साथ सो वार्ड स्थापना गरिएको गांउपालिकाका प्रशासकीय अधिकृत दिनेश राइले जानकारी दिए। अस्पतालको सुबिधासहितको क्वारेन्टाइन निर्माणसंगै गाउँपालिका ले स्थानीयको स्वास्थ्य परिक्षणका लागि स्वास्थ्य संयोजक जीतेन्द्र यादवको नेतृत्वमा मोबाईल टोली परिचालन गरेको जानकारी दिंदै प्रशासकीय अधिकृत राइले दुई सदस्यीय सो टोलीले बिदेशबाट फर्कनेहरुको पहिचानसहित निगरानी राख्ने कामसमेत गरिरहेको बताए।

बिदेशबाट नेपाल भित्रिएकाहरुमा कोरोना भाइरसको संक्रमण दर बढ्दै गएका कारण पनि उनीहरूको पहिचानलाई मुख्य प्राथमिकता दिनुपरेको राइको भनाइ थियो। कोरोनाको संक्रमण बढे यता विभिन्न देशबाट ५ जना स्थानीय गाउँपालिका प्रवेश गरेको पुष्टि भएको स्वास्थ्य संयोजक यादबले बताए। यादवले भने,(उनीहरू हाम्रो उच्च निगरानीमा छन, घरमै क्वारेन्टाइनमा बस्न सल्लाह दिएका छौं।मौसम परिवर्तनका कारण बृद्धबृद्दा र केटाकेटीमा रुघाखोकीको समस्या गाउँपालिकामा बड्दै गएपनि कोरोणा संक्रमणको खतरा भने तत्काल नरहेको यादबको दावी थियो। सरुवा रोगहरुको रोकथाम र नियन्त्रणका लागी एउटा स्वास्थ्य केन्द्र निर्माण गर्ने गाउँपालिकाको अवधारणा अनुरुप वडा नं ३ बासामा निर्माणाधिन भवनमा ५ बेड को आइसुलेशन वार्ड र त्यसको एक किलोमिटर टाढा छुट्टै ५ बेडको क्वारेन्टाइन स्थापना गरिएको जानकारी समेत उनले दिए।
पर्याप्त मेडिकल सामाग्रीहरुको उपलब्धता नभए पनि गाउँबासीहरुको स्वास्थ्य सुरक्षा आफुहरुको प्राथमिकतामा रहेको बताउंदै प्रशासकीय अधिकृत राइले कोरोना संक्रमणको उच्च जोखिम रहेको अवस्थामा भीडभाडबाट टाढै रहन र जिल्लाबाहिरबाट कोहि गाउँपालिका भित्र प्रवेश गरेको खण्डमा त्यस्को सूचना उपलब्ध गराउन सबैसँग अपिल समेत गरेका छन।