ठोस योजनाका साथ अघि बढ्न सरकारलाइ माओवादी केन्द्रको आग्रह



काठमाडौ १७ चैत्र । नेकपा (माओवादी केन्द्र) द्धारा गठित ‘कोरोना रोग प्रतिरोध ब्यवस्थापन कार्यदल’ ले प्रधानमन्त्री केपी ओली तथा सरकारको नाममा १० बुँदें मागपत्र जारी गरेको छ । कोरोनाभाइरसको संक्रमण रोक्नको लागि माओवादी केन्द्रले देशभर जारी गरेको लकडाउन निर्देशनले नागरिकहरु दैनिक उपभोग्य वस्तुको सहज उपलब्धतामा समस्या देखिएको भन्दै प्रधानमन्त्री ओली तथा सरकारको नाममा उक्त मागपत्र जारी गरेको हो ।

उक्त मागपत्र ‘कोरोना रोग प्रतिरोध ब्यवस्थापन कार्यदल’ को नाममा पूर्व संसद समेत रहेका माओवादी केन्द्रका महासचिव कर्णजित बुढाथोकीले जारी गरेका हुन । सरकारको नाममा जारी गरिएको मागपत्रमा लकडाउनको समयमा नागरिकले दुख, हैरानी तथा समस्याहरु नपाउने गरी समग्र विषयमा सरकारलाई ध्यान पुर्याउनुपर्नेमा जोड दिइएको छ ।

जारी गरिएको माग पत्रमा भानिएको छ–‘दैनिक जीवनमा अत्यावश्यक वस्तुहरु, खाद्यान्न, खानेपानी, ग्याँस, औषधी, पेट्रोल, डिजेल लगायतको व्यवस्था सुनिश्चित गर्न गर्दछौं । कोरोनाले निम्त्याएको विपतसँग सामना गर्न सरकारलाई ठोस योजनाका साथ दक्षजनशक्ति परिचालन गर्न माग गर्दछौ।’

मागपत्रमा संकटको समयमा देखिएका तमाम समस्याहरु र देश तथा विदेशमा कोरोना संक्रमणको प्रभावबारे सत्य तथ्य समाचारहरु सम्प्रेषण गर्नका लागि खटिएका पत्रकारहरुको लागि विशेष स्वास्थ्य उपकरण, उपचार कोष, तथा त्यसको प्रभावका कारण मिडिया सञ्चालनमा देखिएका समस्यामा सहयोग गर्नका लागि समेत सरकार समक्ष माग गरिएको छ ।

त्यस्तै कोरोनाको संक्रमणका कारण सरकारले लकडाउन घोषणा गरेपछि विभिन्न शहरहरुमा रहेका नागरिकलाई लकडाउन अवधिभरको लागि उपभोग्य सामाग्रीको सहज वितरण तथा उनीहरुलाई आ–आफ्नो गाउँ, घरसम्म पुर्याउनको लागि विशेष व्यवस्था गर्न समेत माग गरिएको छ ।

त्यसैगरी ज्यालादारी मजदुर र सुकुम्बासीहरुको दैनिक जीवन निर्वाहको निम्ति तत्काल घर–टोलमा पुगेर प्रत्येक दिनको रु।१००० सम्म आपतकालिन भत्ताँ उपलब्ध गराउन समेत माओवादी केन्द्रको ‘कोरोना रोग प्रतिरोध ब्यवस्थापन कार्यदल’ ले सरकार समक्ष जोडदार रुपमा माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस्