काठमाडौं उपत्यकाभित्र ५ हजार मानिस अट्ने क्‍वारेन्टाइन बनाइने, सरकारले गर्दैछ यस्तो तयारी



काठमाडौ ९ चैत्र । कोभिड १९ अर्थात कोरोना संक्रमितहरुको उपचारको लागि उपत्यकामा तत्काल ५ हजार व्यक्ति क्षमताको क्‍वारेन्टाइन बनाइने भएको छ। आइतबार कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले शनिबार गठन गरेको क्‍वारेन्टाइनस्थल निर्माण तथा व्यवस्थापन कार्यदलको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
क्‍वारेन्टाइन निर्माणका लागि उपत्यकाभित्रका होटेल, होस्टल, स्कुल र रंगशालाहरुलाई तयार गरिने भएको छ। बैठकले काठमाडौं उपत्यकामा तत्काल ५ हजार व्यक्ति अट्ने क्‍वारेन्टाइनस्थल बनाउने निर्णय लिँदै आवश्यक परेमा तिनैलाई अस्थायी अस्पतालमा परिणत गर्न सकिने निर्णय गरेको हो । बैठकले पर्यटन विभाग र पर्यटन बोर्डलाई होटेल व्यवसायीसँग समन्वय गरी कम्तीमा २ हजार व्यक्ति क्षमताका लागि उपयुक्त होटेलको स्थानसहितको विवरण तयार गर्न निर्देशन दिएको छ।


बोर्ड र विभागले निजीक्षेत्रका व्यवसायीसँगको समन्वयमा होटेल निर्धारण गर्ने छन्। प्याब्सन, एनप्याब्सन र हिसानका प्रतिनिधिले आपसी समन्वयमा कम्तीमा दुई हजार क्षमताको क्‍वारेन्टाइन बनाउन स्थान दिनुपर्ने छ। त्यसैगरि राष्ट्रिय खेलकुद परिषद्ले काठमाडौं, ललितपुर, पोखरा, बुटवल र धरानका होस्टेल तथा रंगशालामा क्‍वारेन्टाइनका लागि व्यवस्थापन गर्न सकिने क्षमताबारे अध्ययन गर्ने भएका छन्। काठमाडौं उपत्यकामा ५ हजार अट्ने क्‍वारेन्टाइन बनाउने मापतदण्ड र स्थान सोमबारसम्म पहिचान गरिसक्नुपर्ने भएको छ। सोमबार क्‍वारेन्टाइन बनाउन सकिने स्थानबारे सुझाव आएपछि आवश्यक निर्णय लिइनेछ।

प्रतिक्रिया दिनुहोस्