प्रचण्डलाई थप्पड र जुत्ता हान्ने दुवै प्रहरी हिरासतमा : तत्काल रिहा गर्न माग



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन युवा कम्युनिष्ट लिग (वाईसीएल)ले प्रदेश तीनका इन्चार्ज समेत रहेका आफ्ना नेता पदम कुँवरलाई तत्काल रिहाइ गर्न माग गरेको छ । ७ वर्षअघि तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सार्वजनिक कार्यक्रममा थप्पड हानेर चर्चामा आएका कुँवरलाई प्रहरीले गत शनिबार पक्राउ गरेपछि उनी हाल प्रहरी हिरासतमा छन् । पक्राउ परेका कुँवरलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान गर्न भन्दै ७ दिन म्याद थप गरी हिरासतमा राखेपछि वाइसीएल कार्यवाहक अध्यक्ष प्रकाश दुमी राईले विज्ञप्ति जारी गर्दै प्रहरीले विनाकारण कुँवरलाई गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेका हुन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट मुलुकी अपराध संहिताको अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद थप गरेर उनीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
त्यस्तै, १८ माघमा प्रचण्डलाई नै लक्षित गर्दै राष्ट्रिय सभागृहमा जुत्ता प्रहार गरेका रतन तिरुवा पनि अहिले प्रहरी हिरासतमा नै छन् । उनलाई पनि प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको छ । सभागृहमा नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा रतनले प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार गरेका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्