हिमगङ्गा माविलाई १० थान कम्प्युटर
राजेन्द्र बस्नेत, सोलुखुम्बु । लिखुपिके गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बस्नेतले पालिका परिसरमा रहेको हिमगङ्गा मा.वि.लाई १० थान कम्प्युटर हस्तान्तरण गर्नु भएको छ । गाउँपालिकामा सोमबार आयोजित एक विशेष कार्यक्रममा अध्यक्ष बस्नेतले विद्यालय प्रधानाध्यापक सत्यनारायण सिंह र शिक्षक नरेश थुलुङ राईलाई ती कम्प्युटर हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा बस्नेतले प्रधानाध्यापक सिंहसहितका उपस्थित शिक्षकहरुलाई प्रविधिमैत्री, गुणस्तरीय शिक्षा प्रदान गर्न निर्देशन समेत दिनु भएको थियो । उहाँले आजको युग कम्प्युटरको युग भएको र शिक्षामा प्रविधि अनिवार्य बन्दै गएका कारण गाउँपालिकाले विद्यालयलाई कम्प्युटर सहयोग गरेको स्पष्ट पार्दै अन्य अपुग कम्प्युटरहरु प्रदेश सरकारसँग माग गरिएको र ती पनि चाँडै प्राप्त हुने जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिका उपप्रमुख प्रमिला बस्नेत, १ नम्बर वडाध्यक्ष ङ्वाङ ल्हाक्पा शेर्पा, ३ नम्बर वडाध्यक्ष पुण्यबहादुर बस्नेत, गाउँपालिका शिक्षा शाखा प्रमुख प्रेम बहादुर बस्नेत लगायत स्थानीयको उपस्थिति थियो । गाउँपालिका भर ३ वटा मावि रहेको भए पनि यसअघि नै चन्द्रज्योती मावि भकान्जे पापाकोट र बुद्ध मावि गोलिमा ओम ढुङ्गेलको सहयोगमा कम्प्युटर कक्षा संचालनमा आएका थिए ।