बुटवलको मिलनचोकमा मेगा बैंकको आफ्नै भवन



बुटवल । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर ५ आर्थिक र औद्योगिक हिसाबले अगाडि रहेको भन्दै बैंकिङ क्षेत्रसँगको सहकार्यका लागि प्रदेश सरकार तत्पर रहेको बताएका छन् । मेगा बैंक नेपाल लिमिटेडले रुपन्देही जिल्लाको बुटवलमा आफ्नै जग्गामा निर्माण गरेको अत्याधुनिक भवन शाखा कार्यालयको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । मेगा बैंकले आफ्नै भवनबाट सञ्चालन हुने गरी पहिलो प्रादेशिक कार्यालयका लागि प्रदेश नम्बर ५ लाई रोजेकोमा खुसी व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले धन्यवाद समेत व्यक्त गर्नु भएको थियो । मिलनचोकस्थित आफ्नै जमिनमा नवनिर्मित अत्याधुनिक भवनबाट बुटवलकै पुष्पलाल पार्कमा हाल सञ्चालनमा रहेको बैंकको शाखा कार्यालयलाई स्थानान्तरण गरी कारोबार थालेको छ ।
कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले बुटवलमा मेगा बैंकले आफ्नै जमिनमा अत्याधुनिक भवन निर्माण गरी सञ्चालनमा ल्याएकोमा खुसी लागेको बताए । मेगा बैंकको पञ्चवर्षीय रणनीतिक कार्ययोजनाअनुसार आफ्नै भवन निर्माण कार्यलाई अन्य प्रदेशमा पनि तीव्रता दिइने उनले बताए । यस क्षेत्रका जनताको बैंकिङ पहुँच वृद्धि गर्न प्रदेश सरकारसँग हातेमालो गर्न मेगा बैंक तयार रहेको भन्दै अध्यक्ष शाहले रोजगारमूलक एवं उत्पादनमूलक क्षेत्रमा गरिने लगानीको पनि बढोत्तरी गर्ने लक्ष्य रहेको जानकारी दिए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारी नारालाई साकार पार्न कृषि, पर्यटन, भौतिक पूर्वाधार, जलविद्युत, शिक्षा, स्वास्थ्य क्षेत्रका उद्यमी व्यावसायीसँग हातेमालो गर्न मेगा बैंक तयार रहेको बताउँदै उनले सहकार्यका लागि आह्वानसमेत गरे । सन्तुलित मुनाफा आर्जनलाई ध्यानमा राखेकाले मेगा बैंकको वर्तमान सुदृढ, सबल रहेको तथा भविष्य उज्ज्वल रहेको अध्यक्ष शाहले बताए ।
मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बैंकको आफ्नै भवन निर्माण भएपछि ग्राहकहरुलाई प्रदान गरिने सेवा, सुविधा लगायत कारोबारमा थप सहज हुने भन्दै उनले तत्कालिन पश्चिमाञ्चल विकास बैंकसँगको मर्जरदेखि नै प्रदेश नम्बर ५ मा मेगा बैंकको कारोबार उत्साहजनक भएकोमा अब गण्डकी विकास बैंक गाभिएपछि झन् दरिलो उपस्थिति हुने बताइन् । मेगा बैंक ‘बैंक अफ दि एयर २०१९’ बाट सम्मानित हुनुमा प्रदेश ५ का ग्राहकहरु, कर्मचारी र सरोकारवालाहरुको पनि श्रेय रहेको भन्दै उनले आभार व्यक्त गरिन् । ग्राहकको विश्वास जित्दै अघि बढिरहेकाले मेगा बैंकले बैंकिङ कारोबारसँगै वित्तीय साक्षरता र परोपकारी कार्यलाई पनि प्राथमिकता दिएको खुञ्जेलीले बताइन् ।
स्थापनाको एक दशक नबित्दै देशभर शाखा सञ्जाल विस्तार गरिरहेको मेगा बैंकका १११ शाखा, २९ वटा एक्सटेन्सन काउन्टर, ११४ वटा एटिएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र ३ हजार भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।

प्रतिक्रिया दिनुहोस्