थुलुङदूधकोशी गाउँपालिकाको मुक्लीमा काँग्रेसको बृहत खुला सभा
सोलुखुम्बु । थुलुङदूधकोशी गाउँपालिकाको मुक्लीमा काँग्रेसको बृहत खुला सभा सम्पन्न गरेको छ । सो भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोईरालाले रेमिट्यान्सले धानेको मुलुकमा विशेसमा पसिना बगाउने नेपाली युवा जनशक्तिलाई देशभित्रै राखेर परिवर्तन गर्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेस थुलुङदूधकोशी गाउँपालिकाले मुक्लीमा आयोजना गरेको गाउँपालिकास्तरीय बृहत खुला सभालाई प्रमुख अतिथिका रहनु भएको महामन्त्रि कोइरालाले रेल र पानीजहाजको सपना बाँडेर मुलुक समृद्ध नहुने भन्दै निर्यातमुलक उत्पादनमा जोड दिनुपर्ने स्पष्ट पार्नुभयो ।
देशको विकासको बाहकका रुपमा काँग्रेस मात्र भएकाले आगामी निर्वाचनमा काँग्रेसलाई जनताले रोज्ने दाबी गर्दै कोइरालाले अहिलेको सरकारले जनभावना अनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो ।
सभामा कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले अहिलेको सरकार नेकपाको हो की यति होल्डिङको हो छुट्याउन नसकेको बताउनुभयो । खाने तेल नभएका जनतालाई रेल र खानेपानी नपाएका जनतालाई पानीजहाजको सपना देखाएर सरकारले हावा गफ गरेको आरोप लगाउनुभयो ।
सोही अवसरमा काँग्रेसका सांसद गगनकुमार थापाले वर्तमान केपी ओली नेतृत्वको शक्तिशाली सरकारले दुई बर्ष खेर फालेको भन्दै सरकार पूर्ण रुपमा असफल बनेको बताउनुभयो । यो दुई वर्षमा नेपाली जनताले नेपाली कम्युनिष्टलाई नजिकबाट चिन्ने मौका पाएको उहाँको भनाइ छ ।
केन्द्रिय सदस्य तथा पुर्वमन्त्री बलबहादुर केसीले स्थानीय तहका जनप्रतिनिधिहरु भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै अब सबैले खोजी गर्नुपर्ने बताउनुभयो । आफ्नै कमजारीका कारण गएको निर्वाचनमा पराजय भएकाले अब सुधारेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ ।
त्यस्तै, काँग्रेस नेता प्रकाशसिंह कार्कीले जिल्लामा अब छिटै काँग्रेसभित्रको विवाद समाप्त हुने भन्दै सबै एकताबद्ध भएर संगठन विस्तारमा लाग्नुपर्ने बताउनुभयो । कायक्रममा सभापति विनोदकुमार बस्नेत, नेताहरु धनजन राई, छत्रध्वज बस्नेत, शुभराम बस्नेत, नातीकाजी गुरुङ, हुत्तराज बस्नेत, खिलाराज बस्नेत, जीवन गुरुङलगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रमका अवसरमा विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गर्ने सयौँ नवप्रवेशीहरुलाई स्वागत गरिएको स्थानीय युवा नेता भानुभक्त उपाध्यायले जानकारी दिनुभयो । काँग्रेस शक्तिमा नभएको अवस्थामा पनि यति धेरै संख्यामा काँग्रेसमा प्रवेश गर्नु भनेको अहिलेको सरकारप्रतिको निराशा र भविष्यमा काँग्रेसप्रतिको आशा भएको उहाँले बताउनुभयो ।
नेपाली कांग्रेस थुलुङदूधकोशी गाउँपालिका सभापति महेन्द्रदीप राईको सभापतित्वमा भएको सभामा नेपाली कांग्रेसका नेता, कार्यकर्ताका साथमा शुभेच्छुकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।