पत्रकार कार्की र पन्तलाइ इन्जाको खोजी पत्रकारिता पुरस्कार

काठमाडौं,३ फाल्गुन। नागरिक दैनिकका सम्वाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशिल पन्तलाई नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) प्रदान गरिने भएको छ।

इञ्जाद्वारा गठित निर्णायक समितिले प्राप्त आवेदनहरु मध्येवाट पत्रकार कार्की र पत्रकार पन्तको समाचारलाई उत्कृष्ठ ठहर गर्दै एक लाख रुपिंया राशीको सो पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो।मार्च १ मा काठमाडौंमा आयोजना हुने विशेष समारोहमा यो पुरस्कार प्रदान गरिने इन्जाले जनाएको छ।
सोलुखुम्वुमा जन्मिएका पत्रकार कार्कीले २०६० सालदेखि दिब्यदर्शन साप्ताहिक,रहस्य साप्ताहिक,साप्ताहिक आवाज पत्रपत्रिकामा काम गर्दै २०६४ सालमा राजधानी दैनिकबाट पत्रकारितालाई थप गति दिएका थिए। उनले हाल नागरिक दैनिकमा सुरक्षा, अपराध, सुशासन र राजनीतिक बिटमा निरन्तर रिपोटिङ गर्दै आएका छन्।
गुल्मीमा जन्मिएका पत्रकार पन्तले रेडियो पत्रकारितावाट करियर सुरु गरेका हुन् र हाल उनी लोकान्तर डटकममा संसद, सरकार, सुशासन लगायत थुप्रै विषयमा आफ्नो कलम चलाउंदै आएका छन्।
इञ्जाले यसअघि उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०) साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीद्वारा लिखित संस्मरणात्मक कृति कोटेश्वरको केटोलाई प्रदान गर्न निर्णय गरिसकेको छ ।

