प्रहरीका सई नै लागूऔषध कारोबारी !

काठमाडौँ,२ माघ ।नेपाल प्रहरीका एक नायब निरीक्षक-सई लागूऔषध कारोबारको आरोपमा पक्राउ परेका छन्। प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो-एनसिबीले ४१ वर्षीय पवन श्रेष्ठलाई पक्राउ गरेको छ।

ललितपुर स्थायी घर भएका श्रेष्ठ प्रहरी प्रधान कार्यालयअन्तर्गत सुरक्षा सेवा निर्देशनालयमा कार्यरत थिए। यहाँबाट अङ्गरक्षक र विदेशी भीआईपी तथा भीभीआईपीको सुरक्षा व्यवस्थापन हुने गर्छ।
ब्युरोले पक्राउ गरेका २२ वर्षीय रिकेशसिंह ठकुरीले आफूलाई पवनले लागूऔषध उपलब्ध गराउने गरेको बताएपछि उनी पक्राउ परेका हुन्। सिंह ३८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका थिए।
ब्युरो स्रोतअनुसार श्रेष्ठ आफै लागूऔषध दुर्व्यसनी पनि हुन्। उनले यसबाट छुटकारा पाउन एक वर्षअघि औषधी सेवन गरेपनि पुन कारोबारमा संलग्न भएको ब्युरोको भनाइ छ।
श्रेष्ठकै बयानका आधारमा प्रहरीले ६४ ग्राम ब्राउन सुगरसहित दीपक नेपाली शेर्पालाई पनि पक्राउ गरेको छ। शेर्पाले आफूलाई ब्राउन सुगर उपलब्ध गराउने गरेको श्रेष्ठले बताएपछि प्रहरीले उनको पनि खोजी सुरु गरेको थियो।
एकपटक शान्तिमिसन गएर आइसकेका श्रेष्ठ फेरि जानका लागि पास भएर बसेका थिए। ब्युरोले म्याद लिएर श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

