म्यान्मारमा सैनिक ‘कु’, सुकीसहित सत्तारूढ नेताहरू पक्राउ

काठमाडौंं,१९ माघ ।म्यानमारको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सुकीलाई सेनाले पक्राउ गरको छ। एनएडीका प्रवक्ताले यसको पुष्टि गरेका छन्।

यसलाई सेनाले सत्ता हत्याउने आशंकाको रुपमा हेरिएको बिबिसीले जनाएको छ। विगत केही समयदेखि म्यानमारमा सरकार र सेनाबीच तनाव बढिरहेको थियो।
गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी)ले सरकार गठनका लागि संसद्मा स्पष्ट बहुमत प्राप्त गरेको थियो। तर सेनाले भने चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको छ।
सोमवार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई दबाब दिँदै आएको थियो।
पार्टी प्रवक्ता म्यो न्यूनका अनुसार सूकीका साथै राष्ट्रपति वुइन मीयन र अन्य नेताहरूलाई पनि सेनाले बिहानै पक्राउ गरेको छ।
‘म हाम्रा नेताहरुलाई जथाभावी केही नगरियोस् भन्न चाहन्छु र उनीहरूले कानुन अनुसार गरून् भन्ने चाहन्छु,’ पार्टी भनेका छन्। उनले आफूलाई पनि पक्राउ गरिने आशंका व्यक्त गरेका छन्। राजधानी नेपिद्अ र मुख्य सहर यानगुनका गल्लीहरूमा सेनाको उपस्थिति बाक्लो देखिएको छ। राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ।
सेनाले मुख्यमन्त्रीहरुलाई पक्राउ गरेको उनीहरुका परिवारका सदस्यले जनाएका छन्। म्यान्मारमा सेनाले कू गर्न खोजेको चर्चा चलिरहँदा गत शनिवार त्यहाँको सशस्त्र फौजले संविधानको पालना गर्ने वाचा गरेको थियो।
म्यानमारमा सन् २०११ सम्म सेनाले साशन गर्दै आएको थियो। सूकीलाई लामो समयदेखि घरमै बन्दी बनाइएको थियो। नव गठित संसदको तल्लो सदन आज बस्ने तय भएको थियो। तर, सेनाले भने त्यसलाई रोक्न आग्रह गर्दै आएको बेला पछिल्लो घटना भएको हो।

