उखु किसानले आन्दोलन सुरु गर्ने

काठमाडौं,२८ मंसिर। उखु किसानले आन्दोलन सुरु गर्ने भएका छन् । त्यसका लागि उखु किसानहरु काठमाडौं आइपुगेका छन् । आइतबारदेखि माइतीघर मण्डलामा रिले अनसन शुरु गर्ने उनीहरुको भनाइ छ । विभिन्न चिनी उद्योगले झण्डै ९० करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

गत माघमा पनि उखु किसानले आन्दोलन गरेका थिए । काठमाडौंमा एक महिनासम्म आन्दोलन गरेपछि सरकारसँग सम्झौता गरी किसानहरु घर फर्केका थिए । एक महिनाभित्र सबै बक्यौता रकम दिने सम्झौता अनुसार केही रकम भुक्तानी भयो पनि । त्यतिबेला किसानहरुले करिब २१ करोड रुपैयाँ प्राप्त गरेका थिए । तर पछि बक्यौता रकम भुक्तानी दिन पनि बन्द भएको थियो ।
हालसम्म बाँकी रकम नपाएका किसानहरु फेरि आन्दोलनका लागि काठमाडौं आएका हुन् । उसो त जिल्लामा पटक पटक आन्दोलन गरेपनि सम्झौता अनुसार रकम प्राप्त गर्न नसकेपछि किसानहरुले कात्तिक २३ गते उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टसँग भेटेर ज्ञापनपत्र बुझाएका थिए ।
छठसम्म बक्यौता रकमको भुक्तानी नभए मंसिर २७ गतेदेखि आन्दोलन गर्ने कुरा ज्ञापनपत्रमै उल्लेख थियो । जसअनुसार आज मंसिर २७ गते उनीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु बस रिजर्भ नै गरेर काठमाडौं आएका हुन् । भोलिदेखि आन्दोलन शुरु हुने उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताए ।
जबसम्म सम्पूर्ण रकम प्राप्त हुँदैन, तबसम्म आफूहरु काठमाडौंबाट नफर्किने उनले बताए । उनले भने, ‘हामी यसपाली सम्पूर्ण तयारीका साथ आएका छौं, रकम नलिइ हामी घर फर्किदैनौं ।’ सरकारसँग कुनै वार्ता हुँदैन, पाउनुपर्ने पैसा हातमा पाएमात्रै आन्दोलन रोकिने उनको भनाइ छ ।
अहिले सर्लाहीका किसान मात्र आएका छन् । यो महिनापछि देशभरिका किसान काठमाडौं आउने उनले बताए । काठमाडौं केन्द्रीत आन्दोलन विस्तारै देशैभरि विस्तार हुने उनले बताए ।
यता, उखु किसान आन्दोलनका लागि काठमाडौं आइरहेको थाह पाएर उद्योग मन्त्रालयले चिनी उद्योगीलाई खोजी गर्न थालेको छ । गृह मन्त्रालयको समन्वयमा केही पहिले उद्योगीहरुसँग छलफल गरिएको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले बताइन् । उनले भनिन्, ‘उद्योगीहरुसँग कुरा गर्दा उहाँहरुले एक महिनाभित्र सबै रकम भुक्तानी दिने भन्नुभएको थियो तर भुक्तानी भएको छैन, त्यही बुझ्नका लागि उद्योगीलाई फेरि बोलाएका छौं ।’

