एनआईसी एशिया बैंकको २३ औं वार्षिक साधारणसभा सम्पन्न



काठमाडौं २२ मंसिर । एनआईसी एशिया बैंकको २३ औं वार्षिक साधारणभास सम्पन्न भएको छ । आइतबार काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर (रु.१ अर्व ८४ करोड ६३ लाख) र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश (रु.९ करोड ७२ लाख) समेत वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ । बैंकले १९ प्रतिशत बोनश शेयर पारित गरेपश्चात बैंकको चुक्त पूँजी रु. ११ अर्व ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ पुगेको छ ।

बैंकको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०)७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवह वितरणलगायतका वार्षिक विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएको स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरुको परिपालना गर्दै वार्षिक साधारणसभामा अनलाइन (भर्चुल) प्रविधिमार्फत सहभागी हुने व्यवस्था गरिएको बैंकका नायव प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले बताउनुभयो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंक मुलुकभर ३३० शाखा कार्यालयहरु, ४७० एटिएम, ९९ वटा एक्स्टेन्सन काउण्टर एवं ७४ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुकमै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२२ लाखभन्दा बढी ग्राहक महानुभावहरुका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिव रु. २ अर्व ६५ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानयि निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्