सेवाग्राहीलाई हैरानी दिने सात जना बिचौलिया जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पक्राउ



श्रोत : जिप्रप,काठमाडौं
काठमाडौं,११ मंसिर । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा प्रहरीले सात जना बिचौलियालाई नियन्त्रणमा लिएको छ।

सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने तथा हैरानी दिने गरेको भन्ने जनगुनासो प्राप्त भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

प्रहरीका अनुसार नियन्त्रणमा पर्नेमा सिन्धुलीको सुनकोसी गाउँपालिका–२ घर भई भक्तपुरको सूर्यविनायक बस्ने ४२ वर्षीय कमल खड्का,झापाको गौरादह नगरपालिका–७ घर भई सोही स्थानमा बस्ने ५० वर्षीय गोपालबहादुर बिष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ घर भई काठमाडौंको सानो भर्‍याङ बस्ने ४६ वर्षीय देवप्रसाद अर्याल रहेका छन्।

त्यस्तै, काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी, ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी र तेह्रथुमको म्याङलुङ नगरपालिका–६ घर भई काठमाडौंको शंखमूल बस्ने ५७ वर्षीय स्वयं कृष्ण निरौला पनि नियन्त्रणमा परेका छन्।

नियन्त्रणमा लिइएका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीले जिल्ला प्रशासन कार्यालयलगायत सरकारी निकायमा सेवा लिन आउने सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा हैरानी दिने गतिविधिमाथि निगरानी बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्