ओखलढुंगामा बोलेरो जीप ३५ मिटर तल खस्यो, नौ जना घाइते (नामावली सहित)




ओखलढुङ्गा। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ खनेखर्कस्थित निशंखे–ओखलढुङ्गा भित्री कच्ची सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा बालबालिकासहित ९ जना घाइते भएका छन्।

मिति २०८३ मंसिर ७ गते बिहान करिब ७:१५ बजे निशंखेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको बोलेरो जिप सडकबाट करिब ३५ मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी निशंखे, अस्थायी प्रहरी पोस्ट मिलनचोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल ओखलढुङ्गा पठाएको थियो।

दुर्घटनामा सिद्धिचरण नगरपालिका–२ का ३४ वर्षीय सरोज आचार्य, २४ वर्षीया मिरा सार्की, उनका एक वर्षीय छोरा रोयन मंग्राती, २९ वर्षीय सबिन आचार्य, ७ वर्षीय आयुश मंग्राती, ७ वर्षीय प्रशान्त रम्तेल, २९ वर्षीया रमिला नेपाली, उनका ६ वर्षीय छोरा प्रबिन मंग्राती र ३२ वर्षीया मिना मंग्राती घाइते भएका छन्।

घाइते सबैको सामुदायिक अस्पताल ओखलढुङ्गामा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्