‘सिभिल प्रहरी’ भन्दै डान्स बारमा धाकधम्की दिने दुई युवक पक्राउ
काठमाडौं,५ मंसिर । आफूलाई सिभिल प्रहरी भएको भन्दै काठमाडौंको एक डान्स बारमा प्रवेश गरी सञ्चालक तथा कर्मचारीलाई धाकधम्की र डरत्रास देखाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२६, ज्याठास्थित ‘गोल्डेन आइ डान्स बार’मा मंसिर ४ गते राति करिब १२:३० बजे उनीहरू प्रवेश गरी आफूहरू सिभिल प्रहरी भएको बताउँदै क्लबका सञ्चालक तथा स्टाफसँग विवाद गरेका थिए।
विवादका क्रममा उनीहरूले धाकधम्की दिँदै डरत्रास देखाएपछि प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–८ घर भई भक्तपुर बस्दै आएका २२ वर्षीय नवराज कुँवर र १८ वर्षीय सुमन तामाङ रहेका छन्।
प्रहरीले उनीहरूविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले उक्त घटनाबारे प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका हुन्।


