कर्मचारीलाई राजनीतिक दलको झोला बोक्न र नेताको चाकडी गर्ने प्रवृत्ति त्याग्न गृहमन्त्री गुरुङको चेतावनी



फाईल फोटो
काठमाडौं,५ मंसिर । गृहमन्त्री सुदन गुरुङले राष्ट्रसेवक कर्मचारीलाई राजनीतिक दलको झोला बोक्ने र नेताको चाकडी गर्ने प्रवृत्ति त्याग्न चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले राष्ट्रसेवक कर्मचारीको मुख्य जिम्मेवारी देश र जनताको सेवा गर्नु रहेको स्पष्ट पारेका हुन्।

उनले सरकारमा आएदेखि नै कर्मचारीको भूमिका र जिम्मेवारीबारे स्पष्ट धारणा राख्दै आएको उल्लेख गरेका छन्। नेता र कर्मचारी सबैको साझा उद्देश्य देशप्रति समर्पित भएर जनताको सेवा गर्नु हुनुपर्ने उनको भनाइ छ।

पटकपटक स्पष्ट पार्दा पनि कसैले राजनीतिक दलको झोला बोकेर राजनीति गर्न पाइन्छ भन्ने भ्रम पालेको भए त्यस्तो सोच त्याग्नुपर्ने उनले बताएका छन्।

आफ्नो पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने जोकोहीमाथि कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत उनले दिएका छन्।

गुरुङले आफूहरूलाई कसैको चाकडी गर्ने कर्मचारी नभई जनताको दुःख बुझ्ने, आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्ने र देशप्रति समर्पित राष्ट्रसेवक आवश्यक रहेको बताएका छन्।

उनको अभिव्यक्तिले कर्मचारीतन्त्रमा राजनीतिक प्रभाव र पहुँचभन्दा व्यावसायिकता, निष्पक्षता तथा जनसेवालाई प्राथमिकता दिनुपर्ने सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस्