प्रधानमन्त्री शाहलाई नयाँ दिल्ली विमानस्थलमा राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने



काठमाडौं,५ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जाँदा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने भएका छन्।

प्रधानमन्त्री शाह भारतको राजीकय भ्रमणका लागि भोलि आइतबार मंसिर ६ गते दिउँसो १:४५ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमको विमान चढेर दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शाह २ दिनका लागि भारतको राजकीय भ्रमणमा जाने भएका हुन्। गत चैत १३ गत प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि शाहले पहिलोपटक औपचारिक विदेश भ्रमण गर्न लागेका हुन्। प्रधानमन्त्री शाह नेतृत्वको सरकारी भ्रमण टोली ३४ सदस्यीय हुनेछ।

प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ अधिकारी भारत भ्रमणमा जानेछन्।

त्यहाँ पुगेपछि नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट भ्रमण टोलीमा राजदूतसहित केही सदस्य थपिनेछन्।भारतीय विदेश मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाह आइतबार दिउँसो भारतीय समयानुसार ३ः१५ बजे (नेपाली समय ३ः३० बजे) नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल ३ मा अवतरण गर्नेछन्। त्यसपछि साँझ ६ बजे भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। उक्त भेट ताजमहल होटलमा हुनेछ।

भ्रमणको दोस्रो दिन सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहको औपचारिक स्वागत गरिनेछ। त्यसपछि बिहान १०ः४० बजे उनले महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गर्नेछन्।

सोमबार बिहान ११ बजे प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यक्रम छ। दुई प्रधानमन्त्रीबीचको भेटवार्तापछि दिउँसो १२ः२५ बजे समझदारीपत्र (एमओयू) आदानप्रदान तथा दुवै पक्षबाट प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम तय गरिएको छ।

त्यसैगरी, प्रधानमन्त्री शाहले सोमबार दिउँसो ३ः१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग भेटवार्ता गर्नेछन्।

भ्रमणको अन्तिम कार्यक्रमअनुसार प्रधानमन्त्री शाह सोमबार साँझ ४ः५० बजे भारतबाट स्वदेश फर्किनेछन्।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री शाहको यो पहिलो औपचारिक भारत भ्रमण हो। भ्रमणका क्रममा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय सहयोग तथा विभिन्न समझदारी र सम्झौताका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्