वैदेशिक रोजगारी ठगी नियन्त्रणका लागि बिशेष कार्यदल गठन


वैदेशिक रोजगारीका क्रममा एउटा काम देखाएर अर्को काममा लगाउने, करार सम्झौताअनुसारको तलब तथा सेवा सुविधा नदिने, भिजिट भिसामार्फत रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने तथा कन्सल्टेन्सीमार्फत विदेश पठाउने बहानामा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्न कार्यदल गठन गरिएको हो ।
दुबईमा आयोजित ‘विश्व प्रहरी शिखर सम्मेलन २०२६’ मा सहभागी हुन नोभेम्बर १३ मा यूएई पुगेका गृहमन्त्री गुरुङले अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित नेपाली महावाणिज्य दूतावासमा नेपाली समुदायसँग छलफल गरेका थिए । उक्त छलफलमा वैदेशिक रोजगारीका नाममा नेपाली नागरिक ठगिने र श्रम शोषणमा पर्ने गरेको विषय उठेको थियो ।
त्यसक्रममा गृहमन्त्री गुरुङले ठगी र अपराधमा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता कार्यान्वयन गर्न नेपाल फर्किएपछि उनले शुक्रबार गृह मन्त्रालयमा उच्चस्तरीय बैठक बोलाएका हुन् ।
गृहमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवसहित गृह, श्रम, पर्यटन तथा शिक्षा मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीलगायत सहभागी थिए ।
बैठकले विभिन्न निकायका प्रतिनिधि सम्मिलित संयुक्त कार्यदल गठन गर्ने निर्णय गरेको हो । कार्यदललाई वैदेशिक रोजगारीका नाममा हुने ठगी, करार सम्झौता उल्लङ्घन, कन्सल्टेन्सीमार्फत हुने ठगी, भिजिट भिसाको आवरणमा हुने मानव तस्करी तथा श्रम शोषणका घटनाको सूक्ष्म अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।
त्यस्तै, ठगीमा संलग्न व्यक्ति तथा गिरोहको पहिचान गरी प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याउने कार्यादेश पनि कार्यदललाई दिइएको छ ।
गृह मन्त्रालयले यस्ता गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने र सम्बन्धित निकायबीचको समन्वय प्रभावकारी बनाउने जनाएको छ । मन्त्रालयले विदेश जाँदा कुनै पनि प्रलोभनमा नपर्न तथा आधिकारिक प्रक्रिया, करार सम्झौता र गन्तव्य मुलुकको कानुनी व्यवस्थाबारे बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।


