प्रधानमन्त्री बालेनको कामबाट प्रभावित भए हङकङका अभियन्ता आकाश बञ्जारा
काठमाडौं,५ मंसिर । हङकङमा व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय नेपाली व्यवसायी एवं सामाजिक अभियन्ता आकाश बञ्जाराले प्रधानमन्त्री बालेन शाहको नेतृत्वप्रति उच्च सम्मान र विश्वास व्यक्त गर्दै देश निर्माणको यात्रामा आफ्नो सधैँ सकारात्मक साथ र शुभेच्छा रहने घोषणा गरेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अभियानमा विभिन्न जिम्मेवारी सम्हालिसकेका बञ्जाराले सामाजिक सञ्जालमार्फत भावनात्मक सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री शाहको नेतृत्व क्षमता, आँट, निस्वार्थ कर्म र देशप्रतिको समर्पणको प्रशंसा गरेका हुन्।
फिने अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष तथा नेचुरल साउन्ड हेलिङ इन्टरनेशनल स्कुलका संस्थापकसमेत रहेका बञ्जाराले प्रधानमन्त्रीको संवैधानिक पद र गरिमाप्रति आफूले सधैँ उच्च सम्मान गर्ने उल्लेख गर्दै व्यक्तिगत रूपमा भने शाहलाई उमेरले कान्छो भाइका रूपमा सम्बोधन गरेका छन्।
उनले आफ्नो अभिव्यक्ति कुनै राजनीतिक आग्रह वा पदको अवमूल्यन नभई एक दाइको हृदयमा रहेको आत्मीयता, माया, गर्व र शुभेच्छाको अभिव्यक्ति भएको स्पष्ट पारेका छन्।
बञ्जाराले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रधानमन्त्रीको त्यो उच्च पद र गरिमाप्रति मेरो सधैँ शिर निहुराएर उच्च सम्मान छ। तर आज म त्यो पदभन्दा माथि उठेर, उमेरमा मभन्दा सानो भएको नाताले र आत्मादेखिको शुद्ध प्रेमले तिमीलाई प्रिय भाइ बालेन भनेर यो चिठी लेख्दै छु।’
आफू कुनै राजनीतिक दलको झण्डा बोकेर हिँड्ने व्यक्ति नभएको र अन्धभक्त भएर कसैको पछि लाग्ने स्वभाव पनि नभएको उल्लेख गर्दै उनले आफू राजनीतिमा कहिल्यै संलग्न नहुने बताएका छन्। यद्यपि, देशको मुहार परिवर्तनका लागि इमानदारीपूर्वक काम गर्ने नेतृत्वलाई भने सधैँ प्रोत्साहन र हौसला दिनुपर्ने उनको धारणा छ।
‘तिमीले देशको नेतृत्व सम्हालेर नेपाल आमाको हितमा जुन काम गरिरहेका छौ, त्यो साँच्चै अतुलनीय र प्रशंसनीय छ। तिम्रो निस्वार्थ कर्म, आँट र देशप्रतिको समर्पणले मेरो हृदय जितेको छ,’ उनले लेखेका छन्।
प्रधानमन्त्री शाहप्रतिको आत्मीयता व्यक्त गर्दै बञ्जाराले ‘आई रियल्ली लभ यु, माई डियर भाइ बालेन’ समेत भनेका छन्।
हङकङमा व्यवसाय सञ्चालन गर्दै आएका बञ्जारा नेपालमा समेत लगानी विस्तार गरिरहेका व्यवसायी हुन्। प्रवासी नेपालीलाई नेपालको आर्थिक तथा सामाजिक विकाससँग जोड्ने अभियानमा सक्रिय उनले एनआरएनएका विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन्। व्यवसायसँगै सामाजिक अभियान र नेपाली समुदायका सवालमा पनि उनको सक्रियता रहँदै आएको छ।
बञ्जाराले प्रधानमन्त्री शाहको देश निर्माणको कठिन यात्रामा आगामी दिनमा कुनै अवरोध नआओस् भन्दै करोडौँ नेपालीको आशीर्वाद र साथ सधैँ प्राप्त भइरहोस् भन्ने कामना गरेका छन्।
‘सधैँ यसरी नै देशको सान बनेर चम्किरहनू भाइ,’ भन्दै उनले प्रधानमन्त्री शाहलाई शुभकामना दिएका छन्।
बञ्जाराको यो अभिव्यक्तिलाई व्यक्तिगत राजनीतिक आबद्धताभन्दा पनि देशको विकास, सुशासन र समृद्धिका लागि काम गर्ने नेतृत्वप्रति प्रवासी नेपालीले व्यक्त गरेको विश्वास, सम्मान र सद्भावका रूपमा हेरिएको छ। विदेशमा रहेर पनि नेपालको विकास र समृद्धिमा चासो राख्ने नेपाली समुदायले देशमा सकारात्मक परिवर्तनका लागि नेतृत्वलाई प्रोत्साहन गर्नुपर्ने सन्देशसमेत उनको अभिव्यक्तिले दिएको छ।


