सरकारलाई ज्ञानेन्द्र शाहीको प्रश्न-भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान किन गरिएन ?




काठमाडौं,२६ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले नक्कली भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहीले सत्ताबाहिर हुँदा भ्रष्टाचारविरुद्ध चर्का भाषण गर्नेहरू सत्तामा पुगेपछि भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान अघि बढाउन नसकेको आरोप लगाएका हुन्।

उनले संसद्मा भ्रष्टाचारीलाई जेल हाल्ने र कसैलाई नछाड्ने प्रतिबद्धता जनाउने तथा सामाजिक सञ्जालमा भ्रष्टाचारविरुद्ध आवाज उठाउनेहरू अहिले आफैँ सत्तामा रहेको टिप्पणी गरेका छन्।

नयाँ सरकार गठन भएको सात महिना र त्यसअघिको सरकारको कार्यकालसमेत जोड्दा १३ महिना बितिसक्दा पनि भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान गरी नयाँ अभियोजन फाइल अदालतसम्म पुर्‍याउन नसकिएको उनको भनाइ छ।

शाहीले यसअघि कारबाहीमा परेर जेल सजाय भोगिरहेका व्यक्तिहरूसमेत रिहा भइसकेको उल्लेख गर्दै प्रकरणको थप अनुसन्धान र कारबाही प्रक्रिया कहाँ पुगेको छ भन्ने प्रश्न उठाएका छन्।

प्रतिक्रिया दिनुहोस्