भीमफेदी ईभी गाडी दुर्घटनामा १० जनाको मृत्यु,६ जना घाइते




काठमाडौं,२६ कार्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको ईभी गाडी दुर्घटनामा घाइते भएका ६ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा मृत्यु भएका १० जनामध्ये चार जनाको शव जिल्ला अस्पतालमा ल्याइसकिएको छ ।

डिएसपी माधवकुमार काफ्लेले दुर्घटनास्थल भिरालो र जंगल क्षेत्रमा रहेकाले शव निकाल्न कठिनाइ भइरहेको उनले बताए । सुरक्षाकर्मीले घटनास्थलबाट शव निकाल्ने र उद्धार गर्ने काम जारी राखेको उनको भनाइ छ ।

उनका अनुसार उद्धार कार्यमा नेपाल प्रहरीका २७ जना, सशस्त्र प्रहरीका १० जना र नेपाली सेनाका १० जना खटिएका छन् । त्यसबाहेक नेपाल प्रहरीको गणबाट थप १५ जना परिचालन गरिएको छ भने अन्य सुरक्षाकर्मीसमेत उद्धारमा जुटेका छन् ।

काफ्लेले घाइते र मृतकको सनाखत गर्ने काम भइरहेको पनि जानकारी दिए ।दुर्घटनाको कारणबारे भने यकिन भइसकेको छैन । चालकको निद्रा नपुगेका कारण दुर्घटना भएको हुन सक्ने आशंका उनले व्यक्त गरेका छन् ।

यसैबीच,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

छठ पर्व मनाउन घर फर्किंदै गरेका नागरिकले दुर्घटनामा परी अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको लामिछानेले बताएका छन्।

एउटै बस्ती र टोलमा परेको अकल्पनीय बज्रपातको पीडा शब्दमा व्यक्त गर्न असम्भव रहेको उल्लेख गर्दै उनले दुर्घटनामा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

उनले शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

लामिछानेले घाइतेहरूको सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्था मिलाउन तथा मृतकका परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रतिक्रिया दिनुहोस्