देउसीभैलो कार्यक्रममा अश्लील नृत्य गरेको आरोपमा दुई जना पक्राउ



भैरहवा,२६ कार्तिक । रुपन्देहीमा परम्परागत देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत हुने गरी देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले मंसिर २६ गते राति करिब १२ बजेर ५ मिनेटको समयमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवार बजारबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ की ३० वर्षीया चाहना थापा र सर्लाहीको हरिवन निवासी प्राप्ति बस्नेत रहेका छन्।

उनीहरूमाथि सार्वजनिक हित तथा नैतिकताविरुद्धको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन्।

प्रहरीले परम्परागत देउसीभैलो कार्यक्रममार्फत नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावको संरक्षण गर्न आग्रह गर्दै अश्लील तथा अमर्यादित नृत्य, गीत र संगीत प्रदर्शन गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया दिनुहोस्