समाजमा स्वार्थ तथा विनाशकारी प्रवृत्ति हाबी हुँदै गएको एमाले अध्यक्ष ओलीको टिप्पणी



फाईल फोटो
काठमाडौं,२३ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा सांस्कृतिक तथा नैतिक चेतनाको स्तर कमजोर बन्दै जाँदा त्यसको प्रभाव राजनीतिमा समेत परेको बताएका छन् ।

सोमबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले बडादसैँ, शुभदीपावली, नेपाल संवत् ११४७ र छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले समाजमा परोपकार, करुणा र सिर्जनशीलताभन्दा स्वार्थ तथा विनाशकारी प्रवृत्ति हाबी हुँदै गएको टिप्पणी गरे ।

उनले सार्वजनिक संरचना र सम्पत्तिको संरक्षण गर्नुको सट्टा तोडफोड तथा आगजनी गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे । संसद् भवनजस्ता संरचना निर्माण गर्नुपर्नेमा आगो लगाउने र सार्वजनिक सम्पत्तिको रक्षा गर्नुपर्नेमा नष्ट गर्ने मानसिकता समाजका लागि चिन्ताजनक रहेको उनको भनाइ थियो ।

आफू नेतृत्वको सरकारले देशका विभिन्न स्थानमा ठूला सभाहल, रङ्गशाला तथा अन्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको उल्लेख गर्दै ओलीले विकासका संरचना भत्काउने, झुट बोल्ने तथा राष्ट्रिय सम्पत्तिमा आगजनी र लुटपाट गर्ने प्रवृत्तिले समाजलाई गलत दिशातर्फ लैजाने बताए ।

समाजमा देखिएका यस्ता विकृतिको एउटा प्रमुख कारण सांस्कृतिक र नैतिक चेतनामा आएको गिरावट रहेको उनको तर्क थियो । मानिसको सोच र व्यवहारमा परोपकार, करुणा तथा निर्माणको भावनाभन्दा विध्वंस र व्यक्तिगत स्वार्थले प्राथमिकता पाउन थालेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्