दमकमा जनसाहित्यको उत्सव : १९ स्रष्टा सम्मानित, ‘माधव’ खण्डकाव्य विमोचित



दमक,२२ कार्तिक । जनसाहित्य सङ्घ नेपाल, कोसी प्रदेश समितिको आयोजनामा झापाको दमकमा स्रष्टा सम्मान, रचनावाचन तथा कृति लोकार्पण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रगतिशील, अग्रगामी तथा गणतान्त्रिक आन्दोलन र साहित्य–संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका १९ जना स्रष्टालाई सम्मान गरिएको छ।

जनसांस्कृतिक महासङ्घ नेपाल, कोसी प्रदेशको आङ्गिक सङ्गठनका रूपमा रहेको जनसाहित्य सङ्घ नेपाल, कोसी प्रदेश समितिद्वारा दमक बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा कवि तथा सहप्राध्यापक टेकनाथ घिमिरे ‘माधव’द्वारा लिखित ‘माधव’ यात्रा खण्डकाव्य लोकार्पण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि जनसांस्कृतिक महासङ्घ नेपालका केन्द्रीय संयोजक, कवि तथा कलाकार भीम कुमाखीले कृतिको लोकार्पण गर्दै सम्मानित स्रष्टाहरूलाई सम्मान गर्नुभयो। उहाँले सांस्कृतिक रूपान्तरणको अभियानमा कोसी प्रदेशको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गर्दै प्रदेशको भौगोलिक तथा सांस्कृतिक विविधतालाई सिर्जनात्मक ऊर्जाका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयो। उत्तरआधुनिकतावादी प्रवृत्ति र यथास्थितिवादका विरुद्ध प्रगतिवादी साहित्य तथा संस्कृतिलाई अझ सशक्त रूपमा अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि जनसाहित्य सङ्घ नेपालका केन्द्रीय संयोजक तथा प्राज्ञ त्रैलोक्यमान बनेपाली ‘अगिव’ले जनताको पक्षमा साहित्य सिर्जना गर्ने र गराउने उद्देश्यसहित जनसाहित्य सङ्घले आफ्ना गतिविधि अघि बढाउने बताउनुभयो।

त्यसैगरी, विशिष्ट अतिथि नेकपा कोसी प्रदेश सचिवालय सदस्य सन्तोष गौतम, विशेष अतिथि प्राज्ञ प्रा. डा. गोपाल भण्डारी तथा अतिथि कवि खेमलाल पोखरेलले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। समीक्षक वासुदेव खनालले लोकार्पित कृतिको मूल विषयवस्तु, भावभूमि र वैचारिक दृष्टिकोणमाथि गहन समीक्षात्मक टिप्पणी गर्नुभएको थियो।

कार्यक्रममा सम्मानित हुने स्रष्टाहरूमा प्राज्ञ हरि पौडेल, मिश्र वैजयन्ती, रेखा सुवेदी, विन्दु दाहाल ‘मूकदर्शक’, तिला लेकाली, टेकनाथ घिमिरे ‘माधव’, दुर्गा लिम्बू ‘सानु कोविद’, धनकुटे कान्छा, शिव रेग्मी ‘प्रणत’, खगेन्द्र न्यौपाने, अभिषेक दास, निर्मला भट्टराई, प्रकाश बुढाथोकी, उमानाथ दाहाल, धीरज परियार, प्रतिमान तामाङ, गीताप्रसाद श्रेष्ठ र हेमनाथ अधिकारीलगायत १९ जना रहनुभएको थियो।

यसैगरी, कार्यक्रममा प्राज्ञ हरि पौडेल, खेमलाल पोखरेल, तिला लेकाली, मुना मिश्र, भूमिका चापागाईं (घिमिरे), टङ्क पाठक, हरिप्रसाद पराजुली, यज्ञ परिश्रमी, अभिमन्यु चापागाईं, ओम खनाल, चन्द्र सम्बाहाम्फे, युसन चाम्लिङ, दिल भुटानी र थिरुप्रसाद घिमिरेलगायत १५ जना स्रष्टाले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो।

कार्यक्रमका संयोजक तथा जनसांस्कृतिक महासङ्घ नेपाल, कोसी प्रदेशका संयोजक प्राज्ञ प्रा. डा. खेमराज खनालले प्रगतिवादी साहित्य, संस्कृति र कलाका विविध विधालाई समृद्ध बनाउँदै जनपक्षीय सिर्जनात्मक अभियानलाई थप सशक्त बनाउन सकिने बताउनुभयो। उहाँले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

जनसाहित्य सङ्घ नेपाल, कोसी प्रदेशका संयोजक तथा कवि विमला पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सङ्घका सहसंयोजक तथा कवि सुधीर केसीले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन जनसांस्कृतिक महासङ्घ झापा जिल्ला समितिका संयोजक राजन चापागाईंले गर्नुभएको थियो।

करिब ९० जना साहित्यकार, कलाकार, बुद्धिजीवी तथा साहित्य–संस्कृतिप्रेमीको सहभागिता रहेको कार्यक्रमले प्रगतिशील साहित्यिक सिर्जना, स्रष्टा सम्मान र वैचारिक सांस्कृतिक अभियानलाई थप ऊर्जा प्रदान गरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्