बालेन लक्षित रबि लामिछानेको टिप्पणी – ‘हामी यही जमिनका मानिस हौं भन्ने कुरा भुल्नु हुँदैन’



फाईल फोटो
काठमाडौं,२० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रशासन र प्रहरीलाई दबाब दिने प्रवृत्ति त्याग्नुपर्ने बताएका छन् । उनले राजनीतिक सफलता हासिल गरे पनि जनतासँगको सम्बन्ध र आफ्नो धरातल बिर्सन नहुने भन्दै कुनै पनि हालतमा भुइँ छोड्न नहुनेमा जोड दिएका छन् ।

पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले प्रहरी प्रमुख हटाउने र कर्मचारीलाई नियन्त्रणमा लिने काम गरेपछि आलोचना भएपछि लामिछानेको यस्तो भनाइ आएको हो।‘प्रशासन र प्रहरीलाई दबाब दिने काम गर्‍यौं भने हामीलाई त्यो चरित्रले धेरै पर जान दिँदैन । त्यसैले हामीले भुइँ टेक्नुपर्छ, भुइँ छोड्नु हुँदैन साथी हो, कुनै पनि हालतमा भुइँ छोड्नु हुँदैन,’ उनले भने ।

लामिछानेले आफूहरू एउटा चुनाव जितेर आएको उल्लेख गर्दै कुनै ग्रहबाट खसेर आएका नभई यही समाज र यही जमिनका मानिस भएको बताए ।
‘हामीले एउटा चुनाव जितेका हौँ । कुनै ग्रहबाट खसेर आएका होइनौं । हामी यहीँका मानिस हौं, यही जमिनका मानिस हौं, जुन कुरा हामीले भुल्नु हुँदैन,’ उनले भने ।

जनताले आफूहरूलाई हेरिरहेको भन्दै उनले जनतालाई असहज लाग्ने गतिविधि स्वीकार्य नहुने बताए । जनताले अत्यधिक मत दिएको ठालु पल्टिन नभई अझ बढी सेवा गर्नका लागि भएको उनको भनाइ छ ।

‘जनताले हामीलाई अत्यधिक मत दिएको भनेको ठालु पल्टिन होइन, अझ बढी सेवा गर भन्नका लागि हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्